मधेस प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

आइतबार, वैशाख २, २०८१

सिरहा । सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’ पर्व मनाइन लागिएको हो ।  यो पर्वमा परिवारको श्रेष्ठजनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ। ‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाइने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।

मधेश तथा मिथिलाञ्चल क्षेत्रमा यो मनाउने समुदायले विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गर्दछन् । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । यो पर्वमा चना बदामको सातुल, दाल, सजिवनको तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा रहेको छ । 
यो पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । जुडशीतलको अघिल्लो दिन शनिबार मधेशमा कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइएको छ । 

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी,  चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा छ। यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन्। दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ । जुडशितल पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशितलका अवसरमा घरमूली एका विहानै आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । जेष्ठजनहरुले घरघरमा पुगेर आफु भन्दा कान्छो सदस्यलाई शिरमा जल सिञ्चित गर्ने गरिन्छ।  

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार