काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयले १२ हजार नयाँ विद्यार्थीलाई भर्ना लिन सक्ने

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ रहेको छ । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत छन् । रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ । गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरे । यस बर्ष प्रारम्भिक बाल विकास कक्षाहरुमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरुबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए ।  पूर्व प्राथमिक बाल विकास कक्षामा २०८० को शैक्षिक सत्रमा ४ हजार ९२५ जना विद्यार्थीहरुले अध्ययन गरे । यस कक्षामा ५ हजार ५१४ जना विद्यार्थीलाई भर्ना लिने क्षमता छ । गएको बर्ष क्षमतामा पुग्न ७९४ जना कम विद्यार्थी भर्ना भए । यी क्षमतालाई पूर्ण बनाउने यस बर्ष प्रयास हुनेछ ।   ३ हजार ४२९ जना विद्यार्थी अध्ययन गर्ने क्षमतामा गएको बर्ष कक्षा १ मा २ हजार ६५३ जना विद्यार्थीले अध्ययन गरे । यस कक्षको पूर्ण क्षमताका लागि चालु शैक्षिक सत्रमा थप ७७६ जना विद्यार्थी भर्ना हुनुपर्छ । गएको बर्ष २ हजार ५७८ जना विद्यार्थीले अध्ययन गरेको कक्षा २ को क्षमता ३ हजार ३२७ जनाको हो । यो कक्षामा शैक्षिक सत्र २०८१ मा ७४९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ । २ हजार ६४३ जनाले गएको बर्ष कक्षा ३ मा अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ३५९ जना हो । कक्षाको पूर्ण क्षमताका प्रयोग गर्न चालु शैक्षिक सत्रमा ७१६ ले बढी विद्यार्थी भर्ना गर्नुपर्छ । कक्षा ४ मा गएको बर्ष २ हजार ९६१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ६ सय हो । यो कक्षामा ६३९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ । कक्षा ५ को क्षमता ३ हजार ८ सय हो । गएको बर्ष यस कक्षामा ३ हजार १४४ विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा थप ६५६ जना विद्यार्थी भर्ना लिन सकिन्छ । गएको बर्ष ३ हजार ५४२ जना विद्यार्थीले अध्ययन गरेको कक्षा ६ को क्षमता ४ हजार ४०५ जनाको हो । यस कक्षामा ८६३ जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । कक्षा ७ को क्षमता ४ हजार ५३८ जनाको हो । यस कक्षामा गएको शैक्षिक सत्रमा ३ हजार ९४४ विद्यार्थीले अध्ययन गरेका थिए । यो बर्ष थप ५९४ जना विद्यार्थी भर्ना हुँदा कक्षा पूर्ण क्षमताको हुन्छ । कक्षा ८ को क्षमता ५ हजार २१० जना विद्यार्थीको हो । यस कक्षामा गएको बर्ष ४ हजार ६५१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा ५५९ जना थप विद्यार्थीको भर्ना गर्न सकिन्छ । कक्षा ९ मा गएको बर्ष ४ हजार ९५८ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षाको क्षमता ५ हजार २५६ जनाको हो । यस बर्ष २९८ जना थप विद्यार्थी भर्ना गरे कक्षा पूर्ण क्षमतामा उपयोग हुनेछ । कक्षा १० मा गएको बर्ष ३ हजार ९५३ जना विद्यार्थीले अध्ययन गरेका थिए ।

शैक्षिक सत्र २०८१ भर्ना अभियान

शैक्षिक सत्र २०८१ का लागि महानगरपालिकाले बैशाख २ गतेदेखि ७ गतेसम्म ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रुपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गर्ने भएको छ । बैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलकाअनुसार भर्ना अगाडि विद्यालयहरुमा पुस्तक, विद्यालय भवन तथा कक्षा कोठाहरुको मर्मत, प्रयोगशालाहरुको व्यवस्थापनका काम भइरहेका छन् । शैक्षिक गुणस्तर सुधारका लागि सिकारुहरुलाई तयार र स्वतःस्फूर्त रुपमा सिक्ने क्रियाकलापप्रति लाग्ने वातावरणका लागि महानगरपालिकाले भौतिक संरचनाको सुधार, प्रयोगशालाहरुको उपलब्धता, दिवा खाजाको व्यवस्था गरेको छ । विद्यालय नर्स कार्यक्रमबाट स्वस्थ्य आचरण सुधार तथा विद्यालयमै प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ । प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ हुनेछ । हरेक शुक्रबार ‘पुस्तकरहित’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुनेछन् । कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित हुनेछन् । विद्यालयका क्रियाकलापहरुलाई सीसीटिभी क्यामराबाट निगरानी गरिनेछ । कक्षा कोठाहरुमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिनेछ । शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन् । सहरी योजना आयोगका झाका अनुसार शैक्षिक सुधारका लागि लगानी बढाउँदै लगिएको छ । यस बर्षका लागि करिब २ अर्व ७५ करोड रुपैयाँ बिनियोजित छ । यसमा नियमित ९२ करोड २९ लाख रुपैयाँ, ५० करोड शिक्षातर्फका महानगर गौरव योजनाका लागि, ५ करोड रुपैयाँ स्वर्णिम योजनाका लागि १ अर्व ४७ करोड आन्तरिकतर्फ र संघबाट प्राप्त हुने १ अर्व २७ करोड रुपैयाँ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार