बजेट तारे होटलमा खर्च गर्ने होइन ग्रासरुटमा पुग्नुपर्छ : मन्त्री चौधरी

सोमबार, चैत २६, २०८०

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनुपर्ने बताएकी छन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिइन । 
आर्थिक वर्ष २०८१।०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिइन ।
मन्त्रालयमा आयोजित प्रि बजेट छलफलमा बोल्दै चौधरीले मन्त्रालयका सबै शाखा प्रमुखलाई बोलाएर जनताको घरदैलोमा पुग्ने बजेट तयार पार्नुपर्ने बताइन ।  ‘बजेट भनेको जनताको घरदैलोसम्म पुग्ने हुनुपर्छ । गोष्ठी, सेमिनार जस्ता तारे होटलमा खर्च गर्ने कार्यक्रम नबनाउनुस । दुरदराजमा रहेका जनताले प्रत्यक्ष अनुभव गर्ने बजेट आउनुपर्छ ।’ मन्त्रालयको बजेट सिलिङ बढाउन आफुले पहल गरिरहेको भन्दै चौधरीले कर्मचारीहरुले जनताको भावना बुझेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइन । 
महिलाहरुलाई समुन्नत बनाउन आफुले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरेको र त्यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत चासो राखेको जनाउँदै देशका ७५३ वटै पालिकामा महिला मन्त्रालय पुग्ने जिकीर गरिन । एकअर्ब ५३ करोडको बजेटले सबै क्षेत्रमा काम गर्न नसकिने भएकोले नयाँ कार्यक्रम तयार पारेको भन्दै मन्त्री चौधरीले महिलाको हक–अधिकार संरक्षण र समतामूलक समाजको निर्माणका लागि विभिन्न कानुनी एवम् नीतिगत प्रयास भैरहेको पनि बताइन ।
राज्यले न्यायमा महिलाको पहुँच हुन नसक्नुका कारणहरूलाई उजागर गर्दै आवश्यक कानुनी तथा संरचनागत प्रयास गरिएको भन्दै मन्त्री चौधरीले जनताले फरकपन महसुश गर्ने गरि बजेट बनाउन सबै विभागीय प्रमुखलाई निर्देशन दिइन । उनले जनताबाट आएका सल्लाह सुझाव, सांसद तथा मन्त्रीहरुबाट आएका योजनाहरुलाई प्राथमिकीकरण गरी बजेट तर्जुमा गर्न निर्देशन दिइन ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार