काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन’  

शुक्रबार, चैत १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने प्रष्ट्याएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गरेका दाहालले सुशासन र विकासको काम अगाडि बढाउनुपर्नेमा जोड दिँदै पदका लागि नयाँ समीकरण नबनाएको जिकिर गरे । 
‘मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन । मैले जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन,’ उनले भने, ‘पद त मेरो सुरक्षित थियो । तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्, सुशासन र विकास निर्माणलाई अझ तीव्र गर्न सकियोस भन्ने मान्यतालाई मात्रै हो, त्यो पनि गर्न सकिएन भने पद ओगटीराख्नुको औचित्य पनि पुष्टि हुँदैन त्यो कुरामा म सचेत छु ।’  
दाहालले आफूले काम गर्न नसके अर्को उथलपुथल गर्न सक्ने चेतावनी पनि दिए । 
‘अहिले समीकरण चेन्ज भएको छ, त्यसलाई गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो । उथलपुथल त मैले भनेको थिएँ । म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो अरूलाई भनेको होइन । मेरै लागि भनेको हो,’ उनले भने ।
प्रधानमन्त्री दाहालले संघीयताको पक्षमा संघर्ष गर्नेको साथ नपाएको भए संघीय निजामती ऐन टेबुल नहुने, प्रहरी समायोजन ऐन कार्यान्वयनको वर्तमान अवस्थामा आइनपुग्ने उल्लेख गर्दै देशमा विकास र संघीयता कार्यान्वयनको सम्भावना रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार