‘अनुगमनको नाउमा पटक पटक परीक्षा केन्द्रमा जाने नगर्नु’

शुक्रबार, चैत १६, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परिक्षा(एसईइ) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको यो वर्षको एसईइ परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक–पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरु नजान आग्रह गरेको हो ।
बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा पटक पटक धेरै संख्यामा मानिसहरु अनुगमन र निरिक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई लेख्न असहज भएको गुनासो आएको उल्लेख गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन भनेको छ ।


‘ प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारीक पदाधिकारीहरु बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरु समुहगत रुपमा र धेरै संख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्नु’ कायम मुकायम परीक्षा नियन्त्रक नन्दलाल पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । 
बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो । चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए ।
परीक्षाको दोस्रो दिन आज परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार