सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

बिहीबार, चैत १५, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले बढ्दै २०३५.६४ विन्दुमा पुगेको छ । कारोबार रकममा उल्लेख्य बढोत्तरी नभए पनि आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ ।  ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहले परिसूचक उचालेका हुन् । व्यापार, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, वाणिज्य बैंक उपसमूह भने घटेका छन् । 
सर्वोत्तम सिमेन्टको सेयरमा लगातार बढोत्तरीको सातौं दिन पनि सर्किट लागेको छ । सेयरमूल्य प्रति कित्ता १ हजार ८२ रुपैयाँ ७० पैसा पुगेको छ । कारोबारमा पनि सर्वोत्तमको सेयर पहिलो नम्बरमा आएको छ । बिहीबार उक्त कम्पनीको १९ करोड ३७ लाखको किनबेच भएको छ ।  यस्तै कारोबारको अन्तिम समयमा हिमालय ऊर्जा विकास कम्पनीको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।
सर्वाधिक कारोबार हुनेमा सर्वोत्तमपछि गोर्खाज फाइनान्स छ । गोर्खाजको १६ करोड १९ लाखको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको १५ करोड ३९ लाख र सोनापुर मिनरल्सको ११ करोड १८ लाखको सेयर कारोबार भएको छ । आज ११५ कम्पनीको सेयरमूल्य घटेका छन् भने १० कम्पनीको स्थिर रह्यो । सेयरमूल्य घट्दा सर्वाधिक गुमाउनेमा उन्नति सहकार्य लघुवित्त, धौलागिरी लघुवित्तका लगानीकर्ता छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार