नेप्सेमा १०.८३ अंकको गिरावट, कारोबार घट्यो 

बुधबार, चैत १४, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट छ । मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा रह्यो । सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा मंगलबार सूचकमा सुधार भए पनि कारोबार रकम बढ्न सकेको थिएन । बुधबार अझ घटेको छ । कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । यो हिजोका तुलनामा १२ करोडले घटेको हो ।  १३ उपसमूहमा उत्पादन तथा प्रशोधनबाहेक सबै घट्दा उपसमूहसँगै कारोबार घटेको हो । व्यापार उपसमूह सर्वाधिक १.६० प्रतिशतले घटेको छ ।  आज ५१ कम्पनीका सेयरमूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।   सर्वोत्तम सिमेन्टका सेयरमा छैटौं दिन पोजेटिभ सर्किट लागेको छ । बुक बिल्डिङबाट सेयर जारी गरेको उक्त कम्पनीको सेयर प्रति कित्ता ९८४ रुपैयाँ पुगेको छ ।  आज सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट छ । उक्त कम्पनीको ९ करोड ७२ लाखको सेयर किनबेच भएको छ । यस्तै जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख र सोनापुर मिनरल्सको ७ करोड ३३ लाखको सेयर कारोबार भएको छ ।  सेयरमूल्य घटेकाको सूचीमा लघुवित्तहरु अगाडि छन् । सर्वाधिक घट्नेमा कालिका लघुवित्त पहिलो नम्बरमा छ । सृजनशील, उन्नति सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य घटेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार