आईपिएल 

आरसीबीले निकाल्यो पञ्जाबमाथि ६ विकेटको जित 

मंगलबार, चैत १३, २०८०

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) ले १७ औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा पहिलो जित दर्ता गरेको छ । आरसीबीद्वारा घरेलु मैदानमा भएको खेलमा पञ्जाब किंग्स ६ विकेटले पराजित भएको हो । पञ्जाबले दिएको १७७ रनको लक्ष्य आरसीबीले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसीबीका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७७ रन बनाए ।
यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको विष्फोटक अविजित इनिङ खेले । दुई ओभरमा २३ रन चाहिएको अवस्थामा हर्शल पटेलको १९औं ओभरमा कार्तिकले एक चौका र एक छक्का सहित १३ रन निकालेका थिए ।
अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा उनले पहिलो बलमा छक्का प्रहार गरे भने अर्को बल वाइड रहन गयो । त्यसपछिको बलमा चौका प्रहार गर्दै उनले आफ्नो टोलीलाई जित दिलाए ।
महिपाल लोम्रोर ८ बलमा १७ रन बनाएर नटआउट रहे । रजत पतिदरले १८ बलमा १८ रन नै बनाउन सके ।
पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए । यस्तै स्याम करन र हरशल पटेलले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ लको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे ।
आरसीबीका लागि मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए । यस्तै यश दयाल र अलजारी जोसेफले १–१ विकेट लिए ।
आईपिएलमा आज हुने खेलमा बेलुका ७ ः ४५ बजे चेन्नाई सुपर्नकिंस र गुजरात टाइटन्स भिड्ने छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार