वेल्सकी राजकुमारी केटलाई क्यान्सर !

शनिबार, चैत १०, २०८०

लन्डन ।  बेलायतको शाही परिवारकी बुहारी तथा वेल्सकी राजकुमारी केट मिडल्टन लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएकी छैनन् । राजकुमारी नै सार्वजनिक रुपमा देखा नपर्नु सबैको चासोको विषय बनिरहेको छ । यसै सिलसिलामा सामाजिक सञ्जालमा भने अनेकौं अनुमान र अफवाहहरू बढ्दै गएका छन् ।  तर हिजो शुक्रबार मात्रै उनले एउटा आश्चर्य लाग्ने घटना सार्वजनिक गरेकी छन् । उनले क्यान्सरको रोकथामका लागि केमोथेरापीबाट गुज्रिरहेको सार्वजनिक गरेकी हुन् । जनवरीमा पेटको शल्यक्रिया गरेपछि गरिएको परीक्षणले क्यान्सर भएको पत्ता लगाएको उनको भनाइबाट पुष्टि हुन्छ ।  उनी प्रिन्स विलियमकी पत्नी हुन् । उनको उमेर ४२ वर्ष पुगेको छ । केटले क्यान्सरको खोजलाई ‘ठूलो धक्का’ को रुपमा लिएको पनि बताएकी छन् । 
‘क्यान्सर पत्ता लागेपछि मेडिकल टोलीले रोकथाममा केमोथेरापीको क्रमबाट गुज्रनुपर्छ भनेर सल्लाह दिएको छ र म अहिले त्यो उपचारको प्रारम्भिक चरणमा छु,’ केटले भनेकी छन् । 
जनवरीमा केटले दुई हप्ता अस्पतालमा बिताएकी थिइन् । उनले अहिले आफू ठीक भएको र बलियो हुँदै गएको महसुस गरेको पनि बताइन् । उनले केही सञ्चारमाध्यमहरूमा भनेकी छन्, ‘विलियम र मैंले परिवारको लागि यस घटनालाई निजी रुपले व्यवस्थापन गर्न सक्दो प्रयास गरिरहेका छौं ।’ थप उपचार गर्नका लागि शल्यक्रियाको असर कम हुनुपर्ने र पूर्ण रुपमा निको हुन समय लाग्ने उनले बताइन् । उनले भनिन्, ‘म ठीक छु र हुनेछु । छोराछोरी र शुभेच्छुकहरूलाई यही बुझाउने प्रयासमा छु ।’ क्यान्सरबाट प्रभावित र रोगको सामना गरिरहेका सबैलाई उनले जुनसुकै अवस्थामा पनि विश्वास र आशा गुमाउन नहुने सन्देश पनि दिएकी छन् ।  क्यान्सरको खबर सार्वजनिक भएपश्चात केटका आफन्त, बेलायती राजनीतिक दलका नेताहरूले स्वास्थ्य लाभको कामना गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि चाडै सक्षम हुन सहानुभूतिको सन्देश पठाएको छ ।  

वेल्सकी राजकुमारी क्याथरिन
बिरामी भएको सूचना सार्वजनिक भएपछि केटलाई कुन क्यान्सर लागेको र कसरी सबैको चासोको विषय बनेको छ । तर केटको कार्यालय केन्सिङ्टन प्यालेसले राजकुमारीलाई चिकित्सा गोपनीयताको अधिकार रहेको भन्दै क्यान्सरको प्रकार पत्ता लगाउने क्रम जारी रहेकाले थप विवरण नदिने बताएको छ । 
क्रिसमसको दिन परिवारसहित चर्चमा देखा परेकी केट त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । चिकित्सकहरूले भने केटलाई कस्तो प्रकारको क्यान्सर लागेको हो भन्नेबारे पत्ता लगाउन समय लाग्ने जनाएका छन् । 

क्यान्सर कहिले पत्ता लागेको थियो
फेब्रुअरीको अन्त्यबाट क्याथरिनले क्यान्सर बढ्न नदिन अवलम्बन गरिने किमोथेरापी उपचार सुरु गरेकी छन् । राजकुमारीको शल्यक्रिया गत जनवरीमा भएको थियो । दरबारले त्यसको ठ्याक्कै समय सार्वजनिक नगरे पनि शल्यक्रियाको योजनाबारे बताएको थियो  । उक्त शल्यक्रिया “क्यान्सर सम्बन्धी नभएको” जनाएको थियो । उनको भिडिओ सन्देशका अनुसार शल्यक्रियापछि गरिएका परीक्षणहरूबाट उनलाई क्यान्सर भइसकेको पत्ता लागेको थियो ।

राजकुमारीलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो ?
केन्सिङ्टन प्यालेसले उनलाई भएको क्यान्सरको प्रकृतिबारे खुलाएको छैन ।
दरबारका एकजना प्रवक्ताले भने, ‘हामी स्वास्थ्य सम्बन्धी व्यक्तिगत जानकारी सार्वजनिक गर्दैनौँ । हामी सबैलाई जस्तै राजकुमारीलाई पनि आफ्नो स्वास्थ्य गोपनीयता राख्ने अधिकार छ।’

प्रिभेन्टिभ किमोथेरापी के हो ?
क्याथरिनले चिकित्सकहरूको टोलीले आफूलाई “प्रिभेन्टिभ किमोथेरापी” भनिने क्यान्सर थप पैलन नदिने उपचार गराउन आफूलाई सुझाव दिएको बताएकी छन्। उनका अनुसार उनी उपचारको प्रारम्भिक चरणमा छिन् । किमोथेरापी भनेको क्यान्सरका कोशिकाहरू मारेर गरिने उपचार विधिको नाम हो । यो तरल औषधी वा चक्कीको रूपमा पनि दिन सकिन्छ ।
यस्तो उपचारमा परामर्शदाताको काम गर्दै आएका प्राध्यापक एन्ड्रू बेग्सका अनुसार शल्यक्रियापछि दिइने प्रिभेन्टिभ किमोथेरापी भविष्यमा क्यान्सर बल्झिने जोखिम रोक्नका लागि दिइन्छ ।
यस्तो किमोथेरापी कति मात्रामा र कति समयको अन्तरालमा आवश्यक पर्छ भन्ने कुरा क्यान्सरको प्रकार र त्यसको फैलने दरमा निर्भर रहन्छ ।

वेल्सकी राजकुमारी क्याथरिन

चिकित्सकहरूले कसरी क्यान्सर पत्ता लगाए ?
केन्सिङ्टन प्यालेसले जनवरीमा भएको शल्यक्रिया सफल भएको जनाएको थियो। तर चिकित्सकहरूले गरेका परीक्षणहरूबाट क्याथरिनलाई क्यान्सर पनि भएको पत्ता लागेको थियो ।
साधरणतया शल्यक्रियाबाट निकालिने तन्तुहरूमा रहेका कोषहरू पहिचानका लागि परीक्षण गर्न प्रयोगशालामा पठाइने गरिन्छ । 

उनले निजी कहाँ उपचार गराइरहेकी छिन् ?
क्याथरिनको पहिलो शल्यक्रिया लण्डनस्थित एक निजी क्लिनिकमा भएको थियो । तर अहिले उनले कहाँ उपचार गराइरहेकी छिन् भन्नेबारे दरबारले केही खुलाएको छैन । भिडिओ सन्देशमा क्याथरिनले आफ्नो उपचारमा संलग्न डाक्टरहरूको टोलीलाई धन्यवाद भनेकी छिन् ।

क्यान्सर के हो ?
शरीरको कुनै पनि भागको कोष अनियन्त्रित रूपमा खण्डीकरण भयो भने क्यान्सर हुन्छ । समयमै उपचार नभए यी कोशिकाहरू शरीरका अन्य तन्तुहरूमा पनि फैलन्छन्। फैलँदै अन्य अङ्गहरूमा पुगेको अवस्थालाई दोस्रो चरणको मेटास्टाटिक क्यान्सर भनिन्छ ।

क्यान्सरको उपचार

कति मानिसहरूलाई क्यान्सर हुन्छ ?
यूकेको हकमा हरेक दुई मध्ये एक जना व्यक्तिलाई आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सर हुन्छ। क्यान्सरका २०० भन्दा धेरै प्रजाति पत्ता लागिसकेका छन् । एनएचएसका अनुसार यूकेमा सबैभन्दा धेरै मानिसहरूलाई स्तन, फोक्सो, प्रोस्ट्रेट र आन्द्राको क्यान्सर हुनेगर्छ । हरेक क्यान्सर पत्ता लगाउने र उपचार गर्ने विधि फरक फरक छ । हरेक मानिसको शरीरमा क्यान्सरको विकास हुनसक्छ । तर हाम्रो उमेर बढ्दै जाँदा त्यसको जोखिम पनि बढ्दै जान्छ किनभने पाको उमेरका व्यक्तिहरूमा क्षति भएका कोषहरू बन्न समय लाग्छ । अधिकांश मानिसहरूलाई ५० वर्ष वा त्यो भन्दा माथिको उमेरमा क्यान्सर देखिने गर्छ। यूकेको सन्दर्भमा एक तिहाइ मानिसहरूलाई ७५ वर्ष वा त्यो भन्दा बढी उमेर भएपछि क्यान्सर देखिने गर्छ । पछिल्लो ५० वर्षमा क्यान्सर लागेका मानिसहरू उपचारबाट बाँच्ने सम्भावना दोब्बर बढेको छ ।

क्यान्सर भएका र नभएका कोष

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार