दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ 

शुक्रबार, चैत ९, २०८०

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । शराव घोटाला काण्डमा पटक–पटक बयान दिन बोलाउँदा नआएपछि उनलाई बिहीबार राति भारतीय प्रवर्तक निर्देशनालय ईडीले पक्राउ गरेको हो ।  केजरीवालविरुद्ध ईडीको टोली सर्च वारेन्ट लिएर घर पुगेको थियो । घरमै २ घण्टासम्म सोधपुछ गरेपछि नियन्त्रणमा लिइएको थियो । बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेपछि सुरक्षा तयारीका साथ ईडीको टोली उनको निवास पुगेको थियो । 
ईडीले लगातार नवौं पटकसम्म बयानका लागि उपस्थित हुनका लागि आग्रह गर्दा केजरीवाल गएका थिएनन् । उल्टै ईडीविरुद्ध अदालत गएका उनको अपिल विहीबार खारेज भएपछि ईडीले नियन्त्रणमा लिएको हो । केजरीवालको पार्टी आम आदमीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ । मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन् । 
अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सक्रिए भएका बेला सन् २०१२ मा केजरीवालले आम आदमी पार्टी बनाएका थिए । २०१३ को विधानसभा चुनावमा झाडु चिन्ह लिएर चुनाव जितेपछि लगातार दिल्लीको मुख्यमन्त्री छन् । 
सन् २०२१ मा दिल्लीमा मदिरा (सराव) विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी रहेकोमा नयाँ नीति ल्याएर शतप्रतिशत निजी क्षेत्रलाई जिम्मा दिएका थिए । यही विषयमा भारतीय जनता पार्टी भाजपाले विरोध गर्दै आएको थियो । 
गत वर्ष उक्त नीति केजरीवाल सरकारले फिर्ता लिए पनि यसको छानविनका क्रममा उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह हिरासतमा छन् ।  

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार