प्रोटिनजन्य खाद्यान्नमा पहुँच बढाउन शनिबार हाफ म्याराथन 

बिहीबार, चैत ८, २०८०

काठमाडौं । प्रोटिनजन्य पदार्थमा पहुँचको चेतना अभिवृद्धिका लागि नेपाल भेटेरिनरी एशोसिएसनले शनिबार राजधानीमा ‘राइट टु प्रोटिन रन’ गर्ने भएको छ ।  एशोसिएसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै जनचेतना अभिवृद्धिका लागि हाफ म्याराथन आयोजना गर्न लागिएको जनाएको हो ।  ‘राइट टु प्रोटिन रन’ कार्यक्रमका संयोजक डा. शीतलकाजी श्रेष्ठले प्रोटिनजन्य खानेकुरामा आम नागरिकलाई प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।  उनले भने, ‘यो प्रतियोगिताको तेस्रो संस्करण हो । यसको अवलोकनका लागि विश्व भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. राफेल लागेन आउँदै हुनुहुन्छ ।’ स्वास्थकर्मीहरुका अनुसार औसत नेपालीले खाने खानामा प्रोटिनको मात्रा कम हुने गरेको छ । जसका कारण बालबालिकामा पुड्कोपना हुने गरेको मानिन्छ । यसैले खानामा प्रोटिनजन्य पदार्थको पहुँच बढाउनुपर्छ भन्ने उद्देश्यसाथ ‘राइट टु प्रोटिन रन’ आयोजना गरेको डा. श्रेष्ठले बताए ।


यसअघि प्रतियोगिताको दुई संस्करण सम्पन्न भइसकेका छन् । गत वर्षको प्रतियोगितामा पाँच हजार धावक सहभागी थिए । पुरुषतर्फको उपाधि दीपक अधिकारी र महिलातर्फको उपाधि फूलमती रानाले जितेका थिए । यो वर्ष सात हजार धावक सहभागी गराउने आयोजकको लक्ष्य छ । प्रतियोगितामा पुरुष १० किमि र महिला पाँच किमि विधाका दौड पनि हुनेछन् । हाफ म्याराथनको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् ।  त्यसैगरी १० किमिको विजेताले ५० हजार र पाँच किमिको विजेताले ३० हजार रुपैयाँ पाउनेछन् । १२ कक्षासम्मका विद्यार्थीका लागि पाँच र तीन किलोमिटर दौडको स्पर्धा हुनेछ । दौड दशरथ रंगशालामा सुरु भएर रंगशालामै सकिनेछ । धावकलाई १२ स्थानमा प्राथमिक उपचार र घाइते भएमा एम्बुलेन्सको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार