नर्स हत्या प्रकरणः सम्पर्कविहीन ‘प्रेमी’ खोज्दै प्रहरी

शनिबार, चैत ३, २०८०

विराटनगर । भाडाको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास हिजो विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको छ । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन् । उनको हत्यामा कसको संलग्नता रहेको छ भन्ने यकिन भइसकेको छैन ।  अनुसन्धानका क्रममा ती नर्सका प्रेमीको संलग्ता रहेको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि उनका प्रेमी भनिएका सिरहाका अमिन नामका युवक सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । उनका साथीहरुले ती युवक दासका प्रेमी भएको जानकारी गराएका थिए । विभिन्न प्रसंगहरुका कारण घटनामा युवतीका प्रेमी संलग्न भएको हुन सक्ने प्रहरीले अनुमान गरेको हो । प्रेमी भनिएका अमिनको मोबाइल नम्बरबाट ती नर्सका साथीलाई म्यासेज गरिएको पाइएको छ ।  म्यासेजमा आफूले हत्या गरेको उल्लेख गर्दै विभत्स अवस्थाको नर्सको शवको फोटो पनि पठाइएको प्रहरीको भनाइ छ । दास बसेकै घरमा रहेका उनका साथीहरु पनि नर्स हुन् । ह्वाट्एपको माध्यमबाट आफूलाई त्यस्तो म्यासेज आएपछि उनीहरुले घरधनीलाई जानकारी गराएका थिए । त्यसपछि घटनाबारे प्रहरीमा सूचना पुगेको थियो । प्रहरी टोली पुगेर घटनास्थलको अवस्था अध्ययन गरेको थियो । त्यस क्रममा घरका मानिसहरु र उनका साथीहरुसँग सोधपुछ समेत गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ । घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहे पनि उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे । पोस्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अघि बढ्दै जाँदा सत्यतथ्य खुल्ने उनले बताए । घटनामा संलग्न व्यक्ति चाँडै पत्ता लगाइने दाबी पनि उनले गरेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार