व्यवसायीका गुनासो सुन्न सरकार सधैं तयार : कानुनमन्त्री गिरी

शनिबार, चैत ३, २०८०

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदी तथा रत्न आभुषण व्यवसायीहरूको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् । काठमाडौंमा शुक्रबार सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताए ।
‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने, ‘अहिले व्यवसायीहरूका गुनासो धेरै छन्, व्यवसायीहरूको गुनासो सुन्ने राज्यको संयन्त्रमा छ, गुनासो सुन्न मन्त्रालयका ढोका सधै खुल्ला रहनेछ’, उनले भने ।
उनले राज्यको कमजोर नीतिका कारण  व्यवसायीहरू मारमा परेको उल्लेख गरे । ‘जनताहरूमा अहिले निराशा बढिरहेको छ, जनताको निराशालाई आशामा बढल्ने गरी अब काम गछौं’, उनले भने, ‘राज्यको कमजोर नीतिका कारण व्यवसायीहरू मारमा परेकाले अब व्यवसायीमैत्री नीति ऐनमा ध्यान दिन्छौं ।’


उनले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघले राज्यको राजश्वमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै आफ्नो कार्यकालमा समस्याहरू सक्दो सुल्झाउने प्रतिवद्धता जनाए । 
यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ कला र संस्कृतिको संरक्षक भएको बताए । 
सरकारले व्यवहारिकताको पाटोलाई हेरेर कार्यनिर्देशिका बनाउनुपर्ने मल्लले धारणा राखे ।
‘व्यावसायीहरूलाई पहिला थुन्ने अनि सुन्ने काम पछिल्लो समय भइरहेको छ, उनले भने, ‘ग्राहकहरू पुरानो सुन लिएर बेच्न आउनुहुन्छ । उहाँहरूसँग पुरानो बिल बिजक हुँदैन । र व्यवसायीहरूले उहाँहरूको समस्या बुझेर खरिद गर्नुहुन्छ । त्यसकै आधारमा थुनामा पुग्नुपर्ने अवस्था छ । त्यसैले व्यवहारिक पाटोलाई हेरेर निर्देशिका बनाउनुपर्ने देखिएको छ ।’
उनले सुनचाँदी आयातमा भन्सार कर वृद्धि गरेकै कारण अवैध रुपमा सुन भित्रिने र तस्करी बढेको उल्लेख गरे ।


‘सुन भित्राउन भन्सारमा बढाइएको १५ प्रतिशत करकै कारण सुनको तस्करी बढेको छ’, उनले भने, ‘अबको सरकारले त्यो कार्यलाई कम्तिमा १२ प्रतिशत सम्म झार्नुपर्छ ।’
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्सना श्रेष्ठले रत्न तथा आभुषणका लागि कच्चापदार्थ नेपालमै भएकाले सरकारले व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । ‘नेपालमै पाइने रत्नहरू भारतमा सस्तो मूल्यमा निर्यात हुन्छ र नेपालमा भित्राउँदा हजारौ बढी तिरेर आयात गर्नुपरेको स्थिति छ । त्यसैले सरकारले यसको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ ।’
शुक्रबारबाट सुरु भएको दशौं महाधिवेशन आज शनिबार सकिनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी रहेको छ । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरू आबद्ध छन् ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार