द्वन्द्वपीडितले न्याय नपाएकोप्रति सभामुख चिन्तित 

सोमबार, फागुन २१, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले द्वन्द्वमा प्रभावित भएका व्यक्तिहरूले अझै पनि न्याय नपाएको बताएका छन् ।  शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउने घोषणा २०६३ सालमै भएको उल्लेख गर्दै करिब १७ वर्ष पूरा हुँदासम्म पनि न्याय निरूपण गर्ने काम नभएको बताए ।  उनले भने, ‘शान्ति प्रक्रिया टुङ्गाउनको लागि २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्ने, द्वन्द्वले पारेका असरलाई अन्त्य गर्नको लागि सत्य निरुपण तथा मेलमिलापको वातावरण बनाउनका लागि कानुन बनाउन र त्यो कानुन अनुसार हिजोका अशान्तिका घटनाहरूलाई सधैँको लागि अन्त्य गरेर जाने घोषणा भएको थियो । त्यसले साकार रुप लिनको लागि द्वन्द्वमा प्रभावित भएका व्यक्तिहरूको लागि न्याय दिनको लागि प्रयासहरू भएता पनि तिनीहरूको निरुपण नहुने अवस्था छ । घोषणा भएको १७ वर्ष पूरा हुदाँ पनि न्याय निरुपण गर्ने कामहरू हुन सकेको छैन् ।’

विगतमा संघर्षको कार्यनीति लिएका राजनीतिक पार्टी र नेताहरू आज सत्तामा हुदाँ पजि द्वन्द्वलाई अन्त्य गरेर स्थायी शान्ति कायम गर्ने बाटोमा समस्याहरू रहिरहेको पनि उनको भनाई छ ।   उनले भने, ‘हामीले वितेका दिनहरूमा धेरै निरङ्कुश तन्त्रलाई अन्त्य गर्न सफल भएका छौ । १२ वर्षभन्दा लामो जनयुद्धका नाममा भईरहेका घटनाहरू पनि शान्तिमा रुपान्तरण भएका छन् । यो संघर्षको कार्यनीति लिएका आएका राजनीतिक पार्टीहरू, नेताहरू आज सत्तामा पुग्नु भएका छन् । तैपनि देशमा द्वन्द्वलाई अन्त्य गरेर स्थायी शान्ति कायम गर्ने बाटोमा समस्याहरू रहेका छन् ।’  यस्तै, उनले अहिलेको अवस्थामा आफूलाई सुधार गरेर लाने बाहेक अरु उपाय नभएको भन्दै राष्ट्रको हितमा जनताको स्वतन्त्रताको लागि रचनात्मक तरिकाले काम गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।  

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार