सेयर बजार घट्यो, १६३ कम्पनीको सेयरमा गिरावट 

बिहीबार, फागुन ३, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम रह्यो । आज कारोबार भएकामध्ये १६३ कम्पनीको सेयर मूल्य घटेको छ ।  उत्पादनमूलकबाहेक १२ उपसमूहले सूचक घटाएका छन् । विकास बैंक, वाणिज्य बैंक, निर्जीवन बीमा, फाइनान्सलगायत उपसमूह घटेका छन् ।  घटेको बजारमा पनि दुई कम्पनीको सेयरमूल्य भने बढ्दै सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयरमूल्य बढेको हो । बोटलर्सको सेयर प्रति कित्ता ९ हजार ३ सय ११ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै समाज लघुवित्त वित्तीय संस्थाको प्रति कित्ता १ हजार ४ सय ८६ रुपैयाँ ६० पैसा पुगेको हो । 
आज १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँ छ । कारोबार भएकामध्ये ७ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।
आज ७९ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २२ करोड ८५ लाखको सेयर कारोबार भएको छ । अन्तिम कारोबारमा सेयर मूल्य प्रति कित्ता ६ सय ५५ रुपैयाँ ७० पैसा रह्यो । धेरै कारोबार हुनेमा दोस्रो सगरमाथा जलविद्युत कम्पनी छ । सगरमाथाको ११ करोड ५९ लाखको कारोबार भएको छ । त्यसपछि जोशी हाइड्रोपावरको १० करोड ७५ लाख र एनआइसी एसिया बैंकको ८ करोड ७० लाखको सेयर कारोबार भएको छ ।  सर्वाधिक घट्नेमा मैलुङखोला जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर, हिमालयन पावर पार्टनर लगायत रहे ।   

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार