उद्धारमा खटिदाँ ज्यान गुमाएका विप्लभको सम्झना, जलनको उपचार गराइरहेका तीनजनालाई आर्थिक सहयोग 

बिहीबार, फागुन ३, २०८०

ललितपुर । विप्लभ अधिकारी स्मृति सदनले आगजनीका कारण कीर्तिपुर अस्पतालमा उपचार गराइ रहेका ३ जना बिरामीलाई आर्थिक सहयोग गरेको छ ।  आर्थिक सहयोग पाउनेमा  अनुष्का विष्ट, देवकी बुढा, र रामकुमार चौधरी छन् । उनीहरुलाई जनही २५ हजार दिइएको थियो ।  दुई वर्ष अघि ललितपुर महानगर वडा नंं. १४ महालक्ष्मीस्थानमा भएको आगलागीमा परेका ज्येष्ठ नागरिकको उद्धार गर्ने क्रममा १९ वर्षीय विप्लभ अधिकारीको निधन भएको थयो । अधिकारीकै सम्झनामा विप्लभ अधिकारी स्मृति सदन नामक संस्था स्थापना गरिएको हो ।  विप्लभ अधिकारीको स्मृति दिवस, सम्मान तथा प्रथम वार्षिक साधारण सभामा आगजनीमा परेर कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकालाई सांसद डा.तोसिमा कार्की र डा चन्द्र भण्डारीले रकम हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा बोल्दै सासंद चन्द्र भण्डारीले मुलुकमा बहुदलीय व्यवस्था आएको तीस वर्ष कटिसक्दा पनि जलनसम्बन्धी उपचार हुने अस्पताल स्थापना हुन नसक्नु लज्जास्पद भएको बताए । ‘३०, ४० प्रतिशत जलन हुँदा हाम्रो उपचार हुँदैन, मृत्यु वरण गर्नुपर्छ, अर्को मुलुकमा गए ६०, ७० भन्दा धेरै जलन भएपनि उपचार हुन्छ ।’ जलनसम्बन्धी अस्पताल निर्माणका लागि सक्रियतापूर्वक लागेको बताउँदै नयाँ पुस्तालाई समेत नेतृत्व गर्न अनुरोध गरेको बताए । एक वर्ष अघि डा। भण्डारी ग्यास दुर्घटनामा परेका थिए । लामो समय भारतमा उपचार गरेर निको भएका उनले भने, ‘मलाई अझै गाह्रो छ, हेर्दा खेरि ठीक भए जस्तो लाग्छ, पूर्ण ठीक भएको छैन, सबैको आत्मबल बढाउन सक्रिय भएको हुँ ।’

WhatsApp-Image-2024-02-14-at-17.51.42-1707964643.jpeg

सांसद गगनकुमार थापाले विपदबाट जोगिन र त्यसबाट हुने क्षति न्यून गर्ने संयन्त्र अत्यावश्यक भएको बताए । उनले छोराको वियोगलाई जनचेतना र विपदबाट जोगिने र जोगाउने अभियानसँग जोडेर अघि बढेका विप्लभका अभिभावकप्रति आफू कृतज्ञ भएको बताए ।  सासंद डा।तोसिमा कार्कीले कीर्तिपुरका अस्पताल जलन अस्पताल नभएको बताउँदै त्यसलाई जलन अस्पतालको रुपमा व्यवस्थित गर्नुपर्ने बताइन् । संसदको समितिले जलनसम्बन्धी विधयेकमा काम गरिरहेको जानकारी दिदैं उनले भनिन्, ‘शरीरको ३०, ४० प्रतिशत जलेको छ भनेपनि नेपालमा उपचार हुँदैन, यो हाम्रो लागि बिडम्बना हो ।’
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विप्लभ अधिकारीको घटना हृदयविदारक भएको बताउँदै महानगरले विपदबाट जोगिन र क्षति न्यून गर्न धेरै कार्यक्रमहरु ल्याएको  जानकारी दिए । महानगरले ल्याएको ‘एलएमसी एलर्ट एप्स’ ल्याएको बताउँदै एप्समा घटनाको जानकारी अपलोड गरेको जानकारी चार सेकेण्डभित्र नगर प्रहरीहरुसम्म पुग्ने संयन्त्र तयार पारेको अवगत गराए । महानगर विपदसम्बन्धी सामग्री समावेश गरिएको बुकलेट महानगर प्रकाशन गरेर विद्यालयमा पु¥याउने योजना बनाएको समेत जानकारी दिए ।

WhatsApp-Image-2024-02-14-at-17.52.13-1707964643.jpeg
 
नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठ र नेकपा एमाले जिल्ला अध्यक्ष पुरुपोत्तम आचार्यले विप्लभ अधिकारी स्मृति सदनलाई सहयोग गर्न आफूहरु हरदम तयार रहेको बताए । 
बिप्लभका बुबा ठाकुरनाथ अधिकारी र आमा वृन्दा अधिकारीले विप्लभलाई पढाउन राखेको रकमबाट अक्षयकोष स्थापना गरेका थिए । बुबा ठाकुरनाथ अधिकारीले समाजसेवी आफ्नो छोरालाई राज्यले नै सम्मान गर्नुपर्ने धारणा राखे । ललितपुर महानगरले  गएको पुष २ गते महानगरको स्थापना दिवसको दिनमा विप्लभ अधिकारीलाई मरणोपरान्त सम्मानसहित एक लाख नगदसहित पुरस्कृत गरेको थियो । 
अधिकारीको सम्झना र सम्मानमा रिवार, आफन्तजन र छिमेकीको सहभागितामा विप्लभ अधिकारी स्मृति सदन स्थापना गरिएको सदनका कार्यक्रम संयोजक वशिष्ठ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार