मृत भेटिए अर्जुनप्रसाद मैनाली 

सोमबार, माघ २९, २०८०

काठमाडौं । फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुनप्रसाद मैनाली मृत फेला परेका छन् ।  दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जनाएको छ । उनको शरीर पूर्णरुपमा जलेको अवस्थामा शव भेटिएको हो । उनले कारभित्र आगा लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ । मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको बताइएको छ ।  मैनालीले आज एक स्टाटस राखेर सम्पर्कविहीन भएका थिए । उनले स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए । मैनालीले पारिवारीक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गरेका थिए । मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आएका थिए । विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गरिसकेका मैनाली अमेरिकामा नेपाली समुदायमाझ लोकप्रिय थिए । मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।  सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेका उनी त्यसपछिदेखि अमेरिकामै बस्दै आएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार