व्यवसायी डुबे सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

सोमबार, माघ २९, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पांग्रा भएको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको छैटौँ प्रदेश सभामा आयोजित कार्यक्रममा सोमबार बोल्दै उनले व्यवसायी र सरकार साझेदार नभइ एकै रथका पांग्रा भएको बताएका हुन् । साझेदार छुटिएर जान सक्ने तर पांग्रा छुट्टिँदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी एकअर्काका परिपूरक भएको उनले बताए । ‘कर बिना सरकार चल्न सक्दैन, व्यवसायी डुबे  भने सरकार चल्न सक्दैन, उनले भने, बैङ्क डुब्यो भने रोजगारी पाउने अवस्था हुँदैन । त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउन लागेको छ ।’ महासंघको सभा प्रदेशको दिगो विकासका उपाय जुटाउन केन्द्रित हुन्छ भन्नेमा विश्वस्त रहेको उनले बताए ।  ‘व्यवसाय गर्ने भन्दा नेता बढी भएको अवस्था छ, तपाईँहरू कि राजनीति गर्नुहोस् कि व्यवसाय, दुईतिर हात हाल्दा सफल भइँदैन ।  प्रदेशको उद्यमशीलतालाई अगाडि बढाउन उद्योग दर्तासम्बन्धी नियमावली ल्याएर प्रदेशबाटै उद्योग दर्ता, नवीकरणलगायत काम सुरु गर्ने तयारी भइरहेको उनले बताए । ‘अलैँचीको व्यापार भारत मात्रै होइन तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको छ, उनले भने, कुनै पनि विषयमा दुःख दिने खालको निकास नखोजौँ, भारतमा मात्रै अलैँची निकासी गर्दा मूल्यमा कमी आएको बेला यहाँका किसानले घाटा व्यहोर्नु पर्दछ ।’

श्रम सबै समान हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबैको सम्मान गर्नुपर्नेमा जोड दिए ।  ‘मानिसले आफ्नो क्षमताको श्रम बेच्दछ । विराटनगरमा भन्दा काठमाडौंमा बढी मूल्य आउने भए त्यहाँ आफ्नो श्रम बेच्छ, काठ्माडौं भन्दा कतारमा बढी भयो भने त्यहाँ जान्छ । कतारभन्दा अमेरिका बढी भएमा त्यहाँ बेच्छ, श्रम बेच्न त पाइन्छ होला नि?’ उनले भने, अनि विदेश गएका मानिसहरुलाई जनसम्पर्क मोर्चा बनाएर लेबी उठाएर तपाईँहरू पार्टी चलाउनुहुन्छ ।’ मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन सुरु गरेको बताउँदै व्यवसाय प्रवर्द्धनका लागि सरकारले बनाउने नीतिमा दिगो विकासको अवधारणा अपनाइने बताए ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार