सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमालेका प्रमुख सचेतक पदम गिरीले सडक व्यापारीहरुको विषयलाई गम्भीरताका साथ सदनमा प्रवेश गराउने बताएका छन् । ‘मर्यादायुक्त सडक : सडक व्यापारीको लागि सामाजिक न्यायको सुनिश्चितता’ विषयक राजधानीमा आयोजित छलफलमा उनले सडक व्यापारलाई व्यवस्थित तरिकाले लैजान तीनै तहको सरकारले सोच्नुपर्ने बताए । मर्यादित तरिकाले लैजान सके यो क्षेत्रले अर्थतन्त्रमा पनि सहयोग गर्ने उनको भनाइ छ । उनले भने, ‘यो सडक व्यापारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजमा ठूलै प्रभाव पार्छ । त्यसकारण यसलाई मर्यादित तरिकाले लान सक्ने हो भने हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशका लागि एउटा महत्वपूर्ण पाटो हुन सक्छ । तर यसलाई नीति, विधि र कानूनबाट निर्देशित गर्नुपर्छ, यसतर्फ तीनै तहको सरकारले सोच्नु पर्छ । मैले यो विषयलाई एकदम गम्भीरताका साथ लिएर सदनभित्र यो विषयलाई प्रवेश गराउने छु ।’
उनले राज्यले डोजर चलाएर, आवाजहरुलाई दबाएर समस्याको समाधान गर्नु अन्याय भएको भन्दै मानवीय तरिकाले यसको उचित र न्यायोचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘यो त्यो समुदायको मात्रै होइन, राज्यको नै समस्या हो । यसलाई राज्यले उचित तरिकाले व्यवस्थित गर्ने, सामाजिक सुरक्षाको छाताभित्र ल्याउने र भविष्यको बारेमा एउटा सुनिश्चित बाटो देखाउने, दायित्व राज्यको हुन्छ । डोजर चलाएर, आवाजहरुलाई दबाएर समस्याको समाधान भयो भनेर भन्यो भने त्यो अन्याय हुन्छ ।’ काठमाडौंका सडकमा महानगरपालिकाले फुटपाथ व्यापार गर्न रोक लगाएको छ । उनले यस विषयमा महानगर प्रमुख बालेन्द्र शाहको नाम नलिइ ‘स्टन्टबाजी’ गरेको संज्ञा दिए । स्टन्टबाजी गरेर सस्तो लोप्रियताको लागि काम गर्ने प्रवृत्ति बढेको भन्दै उनले भुइँमान्छेलाई दबाउन नहुने बताए ।