पाकिस्तान निर्वाचन : पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

शुक्रबार, माघ २६, २०८०
मयुर प्लाई

काठमाडौँ ।  पाकिस्तानमा भएको आम निर्वाचनको मतगणना जारी छ । बिहीवार भएको राष्ट्रिय सभा र विधानसभा निर्वाचनको मतगणना बिहीवार अबेर रातिबाट सुरु भएको हो ।
बीबीसीका अनुसार हालसम्म गणना गरिएको मत अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्त्वको पाकिस्तान मुस्लिम लीग नवाजको अग्रता देखिएको छ ।
पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन् ।
त्यस्तै पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीके इन्साफ (पीटीआई) ले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ ।
पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार मतगणनाको सुरुवाती परिणाम अनुसार चार सिटमा भने पीटीआइ उम्मेदवारले जित हात पारेका छन् ।
सुस्त गतिमा भइरहेको मतगणना अनुसार नवाज शरिफको पार्टीले अग्रता लिइरहेको हुँदा उनी नै सत्तामा आउने आँकलन पनि सुरु भएको छ ।  पाकिस्तान चुनाव आयोगका अनुसार राष्ट्रिय सभाको ३३६ सिटमध्ये आज २६६ सिटका लागि मतदान भएको छ। निर्वाचनमा २र२ जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका उम्मेदवारसहित ५ हजार १ सय २१ जना उम्मेदवार चुनावी मैदानमा थिए । 
निर्वाचनमा १२ करोड ८५ लाख मतदाताले भाग लिएको तथा १६७ राजनीतिक दल वा स्वतन्त्रले भाग लिएका थिए । 
मतदानका लागि देशभर ९० हजार ५८२ मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदानको क्रममा देशभरको इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको थियो । इमरान खान पदबाट अपदस्थ भएको २ वर्ष पछि निर्वाचन भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार