त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

शुक्रबार, माघ २६, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने तयारीस्वरुप  त्रिविको रिक्त उपकुलपति पदमा आवेदन माग गरिएको थियो ।
४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीमा राखेको हो । अल्पसूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ । त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनिया र नारायणप्रसाद बेलवासे रहेका छन् ।
त्यसैगरी प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि अल्पसूचीमा परेका छन् । उनीहरुमध्येबाट अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस गर्नेछ । 

upakulpati-1707443125.webp
 

त्रिवि नियुक्ति मा भागबन्डा
कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धताको उपहास गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निमित्त उपकुलपति प्राध्यापक शिवराज भुसालले विभिन्न निकायमा राजनीतिक भागबन्डामा नियुक्ति गरेका छन् ।  भुसाल तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। त्रिविमा अहिले शिक्षाध्यक्ष र रजिस्ट्रारर पनि निमित्त छन् । भार्गव धिताल निमित्त शिक्षाध्यक्ष र कृष्ण बस्याल निमित्त रजिस्ट्रार छन् ।
दैनिक कार्य सञ्चालनको जिम्मेवारी पाएका निमित्त उपकुलपति भुसाल स्वयंले उपकुलपति दाबी गर्दै दरखास्त हालेका छन् । कामचलाउ उपकुलपतिले यही माघ २३ गते त्रिवि कार्यकारी परिषद्को बैठक बसाएर विभिन्न कलेज–विभागमा प्रमुख र मानविकी तथा सामाजिक शास्त्र संकायमा सहायक डिन नियुक्त गरेका हुन् ।
भूसालले नेपाली कांग्रेसको कोटामा प्राध्यापक चेतराज भट्टलाई गणित केन्द्रीय विभाग प्रमुख, रामेश्वर आचार्यलाई पब्लिक युथ कलेजको प्रमुख कपिल काफ्लेलाई रामपुर कृषि क्याम्पस, खैरेनीको प्रमुख र चिरञ्जीवी आचार्यलाई मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डिनमा नियुक्त गरेका छन् । 
यसैगरी माओवादी केन्द्रको कोटामा नवराज पाण्डेलाई गोरखा क्याम्पसको प्रमुख, मिलन सुवेदीलाई लमजुङ क्याम्पसको प्रमुख र श्यामबहादुर कार्कीलाई नेपाल ल क्याम्पसको प्रमुख नियुक्त गरिएको छ। त्यस्तै एमाले कोटामा गंगाराम पौडेललाई इलाम क्याम्पसको प्रमुख, कृष्ण न्यौपानेलाई नेपाली केन्द्रीय विभागको प्रमुख र दिनेश पाठकलाई भूगर्भ विज्ञान केन्द्रीय विभागको प्रमुखमा नियुक्त गरिएको छ। 
माघ २ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चशिक्षा शाखाले त्रिवि, मध्यपश्चिमाञ्चाल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चाल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलसमेतमा नियुक्ति, सरुवा, बढुवा, परीक्षा तथा सम्बन्धन विस्तार एवं कार्यक्रम थपलगायतका काम निर्धारित प्रक्रिया र मापदण्डविपरीत भएको उजुरी परेको भन्दै यस्ता कार्य तत्काल स्थगन गर्न सहकुलपति एवं मन्त्रीस्तरीय निर्णय भन्दै विश्वविद्यालयहरूलाई पत्राचार गरेको छ।
कामचलाउ पदाधिकारीले राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गरी विश्वविद्यालयलाई दलीयकरण गरेको प्राध्यापकहरूको आरोप छ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार