मकवानपुर गोल्डकप : एपीएफ क्लब अन्तिम आठमा

शुक्रबार, माघ १९, २०८०

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी छैटौँ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्ड कपको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि ए डिभिजन टोली मच्छिन्द्रलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो । एपीएफका गोलरक्षक श्रेष्ठले टाइब्रेकरमा दुईवटा प्रहार बचावट गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि सोझै टाइब्रेकरको सहारा लिइएको थियो ।
टाइब्रेकरमा एपीएफको तर्फबाट विदेशी खेलाडी एनिसेट, फोडे फोफना, कुलदिप कार्की र दीपेश धिमालले गोल गरेका थिए । मच्छिन्द्रको तर्फबाट विमल घर्तिमगर, झिजोबा क्रिस्पटिफोर र सौरव लिम्बुले गोल गरेका थिए । मच्छिन्द्रका सनिस श्रेष्ठ र करिमको प्रहार एपीएफका गोलरक्षकले बचाउ गरेका थिए । खेलमा अग्रता एपीएफले नै लिएको थियो । उसका लागि विदेशी खेलाडी एनिसेटले गोल गरेका थिए । 
उनले कुलदिप कार्कीको पासमा हेडमार्फत् ३९ औं मिनेटमा गोल गरेका हुन् । खेलमा अग्रता लिएपनि स्टार खेलाडीले भरिएको मच्छिन्द्रले एपीएफलाई दबाबमै राखेको थियो । 
खेलको ७२ औं मिनेटमा मच्छिन्द्रका लागि नेपालका चर्चित स्ट्राइकर विमल घर्तिमगरले हेडमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।  उनले सौरवले लिम्बको क्रसलाई सदुपयोग गरेका थिए । एपीएफले दोस्रो चरणमा थ्रीस्टारको सामाना गर्नेछ । हेटौंडा–६, गौरिटारमा जारी प्रतियोगिताअन्तर्गत् शुक्रबार नेपाल पुलिस क्लब र धनकुटाको राजारानी फुटबल क्लबवीच प्रतिस्पर्धा हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार