‘नियमित विजुली आपूर्ति नहुँदा उद्योग–व्यवसाय प्रभावित’

मंगलबार, माघ ९, २०८०

विराटनगर । बिजुली आपूर्ति नियमित नहुँदा उद्योग–व्यवसाय क्षेत्रमा नकारात्मक असर गरिरहेको भन्दै उद्योगीहरुले यसको समाधान गर्न माग गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठघण्टा लोडसेडिङ भइरहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले नियमित विद्युत आपूर्तिको माग गरेको हो । विद्युत प्राधिकरणले बिनासूचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारका लागि आग्रह गरेको छ । अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगहरुको सञ्चालनमा अवरोध पुग्नु गलत हुने बताउँदै संगठनले समस्या समाधानका लागि सरोकारवाला निकायले चासो दिनुपर्ने जनाएको छ । संगठनका अध्यक्ष राकेश सुरानाले विज्ञप्ति जारी गर्दै उत्पादन क्षेत्रमा विद्युत आपूर्ति बन्द हँुदा त्यसको असर उपभोक्तामा पर्ने जनाउँदै बिद्युत नियमितताको जरुरी रहेको उल्लेख गरेका छन् । निरन्तर सञ्चालनमा रहनुपर्ने उद्योगहरुमा पूर्वसूचना बिना विद्युत आपूर्ति बन्द गरिंदा उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेरजाने, मेसिन विग्रनुका साथै श्रमिक व्यवस्थापनमा कठिनाइ हुने संगठनको भनाइ छ । यसले गर्दा अनावश्यक आर्थिक भार वहन गर्नु परिरहेकोप्रति गम्भीर हुन आग्रह गरिएको छ । उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि विद्युत प्राधिकरण तथा सरकारका निकायहरुसमक्ष संगठनले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार