‘जनताले अनुभूति गर्ने र व्यवहारमा  लागू हुने योजना बनाऔं’

मंगलबार, माघ ९, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा  लागुहुने गरी बनाउने पर्नेमा जोड दिएका छन् । मंगलबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी आवधिक योजना र १६ औँ आवधिक योजनाका बारेमा छलफल गर्नेक्रममा उक्त कुरा बताएका हुन् । 
उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न सुझाव दिए । योजना बनाउँदा विभिन्न कारणले विकास निर्माणमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्तिसहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीहरूको उनले ध्यानाकर्षण गराए । यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा  लागु हुनेगरी बनाउनेपर्ने उपप्रधानमन्त्री खड्काको सुझाव थियो । 

यस्तै, छलफलमा उनले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र  किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे ।  खड्काले अहिले विकास निर्माण गर्दा देखा परिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ती र रुख कटानीको झन्झटिलो व्यवस्थाको सहि विकल्प पहिचान गरी  योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गरे । छलफलको सुरुमा  योजना आयोगका उपाध्यक्ष र पदाधिकारीहरुले १६ औं आवधिक योजनाको तयारीबारे  उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई जानकारी गराएका थिए । उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, सदस्य डा.अनिता शाह ढुङ्गाना, सदस्य सचिव डा.तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार