कस्तो रह्यो आइतबारको दिन 

‘हाईप्रोफाइल’को विदेश भ्रमणमा दुई अर्ब खर्चदेखि संसदीय क्यालेण्डरको चर्चासम्म 

सोमबार, माघ ८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर आइतबार बिहान स्वदेश फिर्ता भए । असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी भएर उनी स्वदेश फिर्ता भएका हुन् । 
हिजो नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई छलफलका लागि बोलाए । छलफलमा घिमिरेले ंसंसदीय क्यालेण्डरअनुसार अघि बढ्न चाहेको भए पनि व्यवहारिक रुपमा सफल हुन नसकेको बताए ।  आइतबार दिउँसो नेपाल न्यूज बैंकले मुलुकका हाईप्रोफाइल व्यक्तिहरुको विदेश भ्रमणमा दुई अर्ब बढी खर्च गरेको समाचार लेख्यो । 
प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक वर्षमा राज्यकोषबाट खर्च अधिक छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा आन्तरिक र बाह्य गरी भ्रमणमा २ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको भन्दा करिब १७ प्रतिशतले बढी हो ।  विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको छ । 
त्यस्तै, आज त्रिभुवन विमानस्थलमा आधा किलो सुनसहित एक जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पक्राउ गरेको छ । 
कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको कार्यालय प्रमुख डा. टोकराज पाण्डेले बताए । बरामद र पक्राउको सिलसिला चलिरहँदा पनि नेपालमा सुन तस्करी घटेको छैन । विगत ६ महिनामा विदेशबाट दुई क्विन्टलभन्दा बढी सुन नेपाल भित्रिएको छ । 
समग्रमा आज, ‘प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता,’ ‘कृषिबाटै देश समृद्ध हुन्छ ः मन्त्री गुरुङ,’ ‘प्रेरक सगुना ः एकै वर्षमा लोकसेवाका सात परीक्षा पास,’ ‘सलले मुख थुनेर हत्या ः तीन महिनादेखि खाटमुनि थियो शव,’ ‘बीपी प्रतिष्ठानको कार्यकारिणी बैठक राख्न प्रधानमन्त्रीको निर्देशन’ शीर्षकका समाचारले प्रमुख स्थान पाए । 
यी हुन् प्रमुख समाचारहरु :
विदेश भ्रमणका नाममा दुई अर्बभन्दा बढी खर्च
प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ । विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा आन्तरिक र बाह्य गरी भ्रमण खर्च बापत २ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा करिब १७ प्रतिशतले बढी हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालका केही विदेश भ्रमणको खर्च यसमा जोडिएको छैन । प्रधानमन्त्री दाहालले एक वर्षमा ६ वटा बढी देशको भ्रमण गरिसकेका छन् । उनको चीन र अमेरिका भ्रमणमा मात्रै ४ करोड ७४ लाख रुपैयाँ खर्च भएको थियो । उक्त भ्रमणमा प्रतिनिधिमण्डलको दैनिक खर्च ३४ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा भ्रमण शीर्षकमा बजेटले एक अर्ब ५९ करोड मात्रै छुट्याए पनि सरकारले योभन्दा एक अर्ब ११ करोड रुपैयाँ बढी खर्च गरेको थियो । सरकारले मितव्ययिताको नीति लागू गर्ने घोषणा गरे पनि फजुल खर्च कटौती गर्न नसकेको महालेखाको तथ्यांक छ । 

PM-Dahal-(1)-1705810558.png
आर्थिक वर्ष २०७८÷७९ मा भ्रमणमा २ अर्ब ३० करोड रुपैयाँ खर्च भएको महालेखाको तथ्यांक छ । त्यसभन्दा पनि अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा भ्रमणमा एक अर्ब आठ करोड रुपैयाँ मात्रै खर्च भएको तथ्यांक छ । 
गत आर्थिक वर्षमा सरकारले अतिथिको स्वागत सत्कार, उपहारसहितका विविध कार्यक्रममा दुई अर्ब चार करोड रुपैयाँ खर्च भएको देखिन्छ ।
त्यसैगरी, अनुगमन मूल्यांकनमा एक अर्ब १७ करोड रुपैयाँ, विभिन्न सरकारी कार्यक्रमका लागि १० अर्ब २४ करोड रुपैयाँ, सेवा र परामर्शमा एक अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको देखिन्छ ।
विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री र मन्त्रीले दैनिक २५०, विशिष्ट तहका कर्मचारी (सचिव)ले २२५ र सहसचिवले १७५ अमेरिकी डलर भ्रमणभत्ता पाउँछन् । होटल खर्च बापतको अलग्गै रकम पाउँछन् । युरोप, अमेरिका, क्यानडा, कोरिया, जापान लगायतका देशको भ्रमण गर्दा ३३ प्रतिशत थप भत्ता पाउँछन् । 
सरकारले पाँचवटा वर्ग विभाजन गरेर विदेश भ्रमण भत्ता निर्धारण गर्ने गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ‘अति विशिष्ट तह’मा निर्धारण गरिएको छ । अन्य विशिष्ट पदमा रहेका कर्मचारीहरुका लागि बेग्लै व्यवस्था छ । भ्रमण गर्नका लागि मन्त्रिपरिषद्ले स्वीकृत गर्ने गर्छ । 

आधा किलो सुनसहित एक जना पक्राउ
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।  कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित दर्जीलाई पक्राउ गरिएको कार्यालय प्रमुख डा. टोकराज पाण्डेलेजानकारी दिए । 
हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट दोहाबाट काठमाडौं आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।
बरामद भएको सुन दर्जी आफैंले ल्याएका हुन् या ल्याइदिन उनी कसैको भरिया भएका हुन् भन्ने अनुसन्धान भइरहेको छ । 

Gold1700664620.jpg

सलले मुख थुनेर हत्या : तीन महिनादेखि खाटमुनि थियो शव 
डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीमा तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो । 
घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र सफिनाको शव विभत्स अवस्थामा फेला परेको बताए ।  उक्त कोठामा बस्दै आएका भारतको दरभंगा लालबागका इकरामुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । मियाँको हत्यापछि भारततर्फ गएका उनी फर्केर आएको मौकामा पक्राउ परेका हुन् ।

arrest2019-07-04-01-53-381654243151.jpeg
एसएसपी खत्रीका अन्सारी र मियाँ नौ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । बेला बेलामा झगडा हुन थालेपछि कात्तिक पहिलो साता अन्सारीले मदिरा सेवन गरि काठको आग्लोले मियाँलाई मरणासन्न हुनेगरि कुटेको र पछि उनकै सलले  घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि शव खाटमुनि लुकाएका थिए । घटनापछि डेरा कोठाको ढोकामा ताला लगाइ चाबी फालेर बल्खुहुँदै सुमो चढेर वीरगंज गएका थिए । त्यहाँबाट रक्सौल, गुजरात, लखनउहुँदै भारतका विभिन्न स्थानमा करिब २ महिना लुकीछिपी बसेका थिए । 
गत पुस दोस्रो साता पुनः काठमाडौं आएका अन्सारी प्रहरीले माघ ३ गते कालीमाटीबाट पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउअघि सोही दिन घरधनीले खबर गरेपछि पुगेको प्रहरी टोलीले डेरामा शव भेटेको थियो । शव सनाखत भएपछि प्रहरीले इकरामुलको खोजी गरेको हो ।  

संसदीय क्यालेण्डर अनुसार आगामी संसद चल्नुपर्छ : सभामुख
सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डरअनुसार अघि बढ्न चाहेको भए पनि व्यवहारिक रुपमा सफल हुन नसकेको बताएका छन् । 
आइतबार प्रतिनिधि सभा संसदीय समितिका सभापतिहरुसँग भएको छलफलमा उनले अब संसदलाई प्रभावकारी तरिकाले अगाडि बढाउन ‘क्यालेण्डर फिक्स’ गर्ने र त्यसअनुसार चल्न वातावरण सिर्जना गर्ने कुरामा अगाडि बढ्नुपर्ने बताए ।  उनले भने, ‘अहिलेसम्म संसदीय क्यालेण्डर अनुसार अगाडि जाने प्रयासहरु भए पनि व्यवहारिक हुन सकेको छैन । अबको संसदलाई प्रभावकारी तरिकाले अगाडि लानको लागि क्यालेण्डर फिक्स गर्न र सोहीअनुसार चल्ने वातावरण बनाउनु पर्छ । र, सोही अनुसार चल्नुपर्छ ।’

Dev-Raj-Ghimire-(2)-1705811465.png
यस्तै, उनले समितिहरुलाई विभिन्न दातृ संस्थाहरुले सहयोग गरेको भन्ने विषय बाहिर आएको भन्दै समितिलाई चाहिएको सहयोग सचिवालयबाट नै लिनु राम्रो हुने बताए ।  संसदीय समितिमा विचाराधीन विधेयकहरु छिटोभन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने पनि उनको भनाइ छ । 
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई एउटा कार्यदिशा नयाँ रूपले लिएर जानका लागि क्यालेण्डर बनाएर जाने विषयमा छलफल भएको बताए । 
उनले एउटै विषय विभिन्न समितिले हेर्ने र एकैदिन मन्त्रीहरुलाई तीन÷चारवटा समितिमा बोलाउँदा नभ्याउने गरेकाले त्यस विषयमा पनि छलफल भएको छ । 
उनले भने, ‘अब संसदलाई नयाँ रूपले लिएर जानका लागि क्यालेण्डर बनाउने, सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरलाई अन्तिम रुप दिने, विशेषगरि विधेयकहरु समितिबाट छिटोभन्दा छिटो ल्याइ सदन चलाउन सहज बनाउने विषयमा विस्तृत छलफल भयो ।’ साथै समितिहरुको क्षेत्राधिकार र मुद्दा हेर्ने सवालमा पनि छलफल भएको खतिवडाले जानकारी दिए । 

सेयर बजारमा उच्च अंकको गिरावट  
सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको गिरावट आएको छ । 
आइतबार सेयर बजार परिसूचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ अंकमा झरेर बन्द भएको छ । वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणले नाफा घटेको देखाएपछि त्यसको असर सेयर बजारमा परेको बुझिएको छ ।  कारोबारको यस दिन ६४ कम्पनीको सेयर बढेकोमा एक सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । 
आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता सेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, अपी पावर, नेपाल रिइन्स्योरेन्स र सोनापुर मिनरल्स अगाडि छन् ।   

प्रेरक सगुना  : एकै वर्षमा लोकसेवाका सात परीक्षा पास 
जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नदेख्नेका लागि मुगुकी सगुना परियार प्रेरणाको स्रोत बनेकी छन् ।
उनी एक वर्षभित्रै लोकसेवा आयोगका ७ वटा परीक्षामा नाम निकाल्न सफल भएकी छन् । उनको मिहिनेतबाट प्राप्त नतिजाले परिश्रम गर्नेका लागि स्वदेशमै रोजगारी सम्भव हुन्छ भन्ने देखाएको छ ।  
२५ वर्षीया परियार स्टाफ नर्स हुन् । उनको आत्मविश्वास यतिबेला लोकसेवाका परीक्षा तयारी गर्ने र चासो राख्नेका लागि चर्चाको विषय बनेको छ । दृढ संकल्पलाई उनले सफलतामा परिणत गर्न सफल हुनु युवामाझ प्रेरक पक्ष भएको छ ।   मुगुको छायानाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी परियार परिश्रममा विश्वास राख्छिन् । उनले सुरुमा संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको परीक्षाको नाम निकालेकी हुन् । यसलगत्तै उनले लगातार ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गरेकी छन् ।  
उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी हुन् । 


दुर्गम ठाउँ, सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ, कहिले भर्ना खुल्छ, कहिले प्रवेश परीक्षा हुन्छ भन्ने केही थाहा हुँदैन थियो । दुर्गम जिल्ला मुगुको गरिब तथा दलित  परिवारकी छोरीलाई नर्सिङ पेसासम्मको यात्रा सहज थिएन । आफ्नै गाउँ नजिक रहेको सामुदायिक विद्यालय महाकाली माविबाट एसएलसी उत्तीर्ण गरेकी उनले सानैदेखि नर्स बन्ने सपना बुनेकी थिइन । 
पढाइमा अब्बल नै रहेकी उनलाई परिवारको पूर्ण साथ रह्यो । उनले महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ब्याक भएकी सगुनाले यसपटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।
सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भए लगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन । नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनी थिइन् । तर, कोरोना महामारीका कारण रोकियो । 
कोरोना महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उनी लोकसेवा तयारी गर्न जागिर छाडेर काठमाडौं पुगिन । काठमाडौंमा एक महिनाजस्तो बसेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो । 
त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षा पश्चात नाम निस्के ठीकै छ, खालि किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् ।

Web-Post(Aaja-Dinvar)-1705790474.jpg
त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा उनको नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् । 
आफ्नो चाहनाअनुसार निरन्तर मेहनत गरे सफलता प्राप्त गर्न सकिने उनी बताउँछिन् । ‘आफूभित्र चाहना, इच्छा, त्यहीअनुसार दृढता र लगाव हुनुप¥यो, असम्भव भन्ने केही छैन । अवसरका लागि विदेशिनु नि पर्दैन, विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’ उनले भनिन् । 
नर्सले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको उनी बताउँछिन् । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुनसक्ने उनको बुझाइ छ । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार