सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्सको विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरू बीचको उच्चस्तरीय समन्वय बैठकमा उनले नक्कली लाइसेन्सको विषयमा बदमासी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनेगरि अख्तियार र सीआइबीबाट छानबिन हुने बताएका हुन् ।
यातायात व्यवस्था विभागले १ लाख २ हजार लाइसेन्स नक्कली भएको आशंकामा छानबिन गरिरहेको छ भने ३२ हजारको लाइसेन्स रद्द गरेको छ । सरकारले छाप्नका लागि कार्ड ल्याउन नसक्दा सर्वसाधारणले सवारी ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाएका छैनन् । नवीकरण गराउनेहरु पनि ठूलो संख्यामा स्मार्ट लाइसेन्स कार्ड पर्खिरहेका छन् । यस्तो बेला धेरै नक्कली लाइसेन्स प्रयोग भइरहेको खुलासा हुँदा त्यसको छानबिनमा मन्त्री ज्वाला गम्भीर देखिएका हुन् । उनले भने, ‘जहाँ जहाँबाट गल्ती भएको छ, गल्ती गर्नेहरुले छुट पाउँदैनन् । छानबिन गर्ने कुरामा धेरै बोल्ने कुरा पनि हुँदैन । कोही कसैको प्रभाव पर्न दिँदैनौ । बदमासी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रतिवेदन गएको छ, सीआईबीबाट पनि प्रतिनिधित्व छ । यसको निष्पक्ष रुपमा छानबिन हुन्छ ।’ उनले १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रूपमा समाधान हुने दाबी गरे ।