'दुई देशबिचको संस्कृती बुझ्न कतार च्यारिटीको प्रयास प्रशंसनीय'

शुक्रबार, माघ ५, २०८०

काठमाडौं । युवाहरूलाई सीपमूलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा साँस्कृतिक केन्द्र भवनको उद्घाटन गरिएको छ ।  शुक्रबार एक कार्यक्रमकाबिच काठमाडौं महानगरपालिका–४ टुसालमा रहेको अल–हैल व्यवसायिक तालिम तथा साँस्कृतिक केन्द्रको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गरेका हुन् । 
युवाहरुलाई तालिम दिएर सीपयुक्त बनाउन र नेपाल र कतारबिचको सम्बन्ध विस्तार गर्न साँस्कृतिक केन्द्रको स्थापना गरेर स्थानीयलाई हस्तान्तरण गरिएको कतार च्यारिटी नेपाल डाइडेक्टर इरसाद अली शेखले बताए । 
उनले भने,‘युवालाई सीपमुलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन गरेर स्थानीयलाई हस्तान्तरण गर्दैछौं । यस केन्द्रबाट यहाँका समूदायले सीपयुक्त तालिम लिएर क्षमता विकास गर्नुहुनेछ, नेपाल र कतारको सम्बन्ध राम्रो हुनेछ भन्ने आशा लिएका छौं ।’
साँस्कृतिक केन्द्रको स्वामित्व अस्लाम सोसाइटीलाई हस्तान्तरण गरिएको छ । भवनको व्यवस्थापन तथा तालिम सञ्चालन अस्लाम सोसाइटीले गर्ने समेत बताइएको छ । 
उद्घाटन कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यो साँस्कृतिक केन्द्र सरकारको सम्पत्ती भएको बताए । उनले भने, ‘कतार च्यारिटीले नेपालमा महत्वपूर्ण भूमिका खेलेको छ । च्यारिटीले निर्माण गरेको यो भवन मुस्लिमका लागि मात्र नभएर समग्र नेपाल सरकारको सम्पती हो ।’
उनले कतार च्यारिटीको यस अभियानले सार्थकता पाओस भनि शुभकामना समेत व्यक्त गरेका छन् । भवनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सीपमुलक शिक्षा प्रदान र संस्कृति संरक्षणमा सहयोग गर्ने विश्वास व्यक्त गरे । 
कतारले नेपालमा अल–हैल व्यवसायिक तालिम तथा साँस्कृतिक केन्द्र भवन निर्माण गरिदिएकोमा धन्यावाद व्यक्त गर्दै उनले कतार च्यारिटीले गर्दै आएका काम प्रशंसा गरे । 
उनले भने,‘हाम्रो मित्र राष्ट्र कतारले नेपालमा साँस्कृतिक र सिपमुलक विकास तालिम केन्द्रको स्थापना गरेकोमा आभार व्यक्त गर्दछु । कतार च्यारिटीले नेपालमा गर्दै आएका कामहरु नियाल्दै आएको छु ।  कतार च्यारिटीले नेपाल र कतारबिच सम्बन्ध मजबुत बनाउन खेलेको भूमिका सराहनीय छ । यस केन्द्रले दुवै देशबिचको संस्कृती बुझ्न सहयोग गरोस् ।’ 
मन्त्री आचार्यले कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै नेपालबाट हजारौं युवायुवती कामको सिलसिलामा कतार पुगेको उल्लेख गरे । 
कतार च्यारिटीले विपद्मा सहयोग गरेको उल्लेख गर्दै मन्त्री आचार्यले भने, ‘चिसोमा कतार च्यारिटीले मधेशमा न्यानो कपडा वितरण गरेको छ । अन्य क्षेत्रमा पनि सीपमूलक तथा व्यवसायीक भवन र तालिम केन्द्र निर्माण गरेर बेरोजगार युवालाई आत्मनिर्भर हुन ठूलो योगदान पुर्याएको छ ।’

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार