दाङ बस दुर्घटनामा  मृत्यु भएका सबैको सनाखत 

शनिबार, पुस २८, २०८०

काठमाडौं ।  दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत भएको छ ।  वडा प्रहरी कार्यालय लमहीका अनुसार नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने एक जना महिला र ११जना पुरुषको सनाखत भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम रहेका छन् । यस्तै, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका वडा नम्बर २५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम सिल्पकार, बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय अर्जुन थापा रहेको  वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।  मृतकको शव लमही अस्पतालमा पोष्टमार्टम जारी भइरहेको छ । अहिलेसम्म पाँच जनाको पोष्टमार्टम गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।  बसमा चालकसहित ३६ जना सवार थिए । तीमध्ये २४ जना घाइते छन् । घाइतेमध्ये चौराहा हस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुबाङमा एक, प्रस्तावित भालुबाङ अस्पतालमा एक जना घाइतेको उपचार भइरहेको छ ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। ११ जना मध्यम र नौ जना सामान्य घाइते छन् ।  प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । 

‘घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन’
लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् ।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी हुन् ।  अस्पताल प्रशासन, उपचारमा संग्लन चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिन् ।  ‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ’ उनले भनिन्, ‘तपाईहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’

WhatsApp-Image-2024-01-13-at-10.46.06-1705145710.jpeg
आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिएकी छन् । मन्त्री केसीले नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको समेत बताएकी छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरेकी छन् । 
शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेहरूमध्ये एक जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

WhatsApp-Image-2024-01-13-at-10.46.07-1705145718.jpeg

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार