बंगलादेशः शेख हसिनाले पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिँदै 

बिहीबार, पुस २६, २०८०

बंगलादेशको आमनिर्वाचनमा अवामी लिग पार्टीको जितपछि शेख हसिनाले आज पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिने भएकी छन् ।  हिजो ३६ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको हसिना नेतृत्वको अवामी लिग सरकारको आज सपथको कार्यक्रम रहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, हालका १४ मन्त्रीले नयाँ मन्त्रिपरिषद्मा स्थान पाएका छैनन् । जसमा परराष्ट्रमन्त्री एके अब्दुल मोमेन, परराष्ट्र राज्यमन्त्री शहरयार आलम, अर्थमन्त्री एएचएम मुस्तफा कमल, योजनामन्त्री अब्दुल मन्नान, कृषिमन्त्री अब्दुर रज्जाक र वाणिज्यमन्त्री टिपु मुन्शीजस्ता नाम सामेल छन् । बंगलादेशका क्याबिनेट सचिव महबूब हुसेनले बिहीबार नयाँ मन्त्रिपरिषद्को सपथ ग्रहण गर्ने, जसमा ३६ सदस्य रहने जानकारी दिए ।  जसमा २५ क्याबिनेट मन्त्री र ११ राज्यमन्त्री रहनेछन् । उनले यसपटक मन्त्रिपरिषद्मा दुईजना प्राविधिक मन्त्री रहने बताए । शेख हसिनाको नयाँ मन्त्रिपरिषद्मा १४ नयाँ अनुहारलाई क्याबिनेट मन्त्री र ७ जनालाई राज्यमन्त्री नियुक्त गरिएको छ ।  नयाँ अनुहारमध्ये बंगलादेशका प्रथम प्रधानमन्त्री ताजुद्दीन अहमदकी छोरी सिमिन हुसेन रिमी राज्यमन्त्रीको सूचीमा परेकी छन् । बंगलादेशमा आइतबार मतदान भएको थियो । प्रधानमन्त्री हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिग पार्टीले २२२ लोकसभा सिट जितेर लगातार चौथो पटक सत्ता हात पारेको छ । जबकि, जातीय पार्टीले ११ सिट वर्कर्स पार्टी, राष्ट्रिय समाजतान्त्रिक दल र बंगलादेश कल्याण पार्टीले एक–एक सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवारले ६१ सिट जितेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार