कर्मचारी प्रशासनको हर्कतविरुद्ध कैची चलाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको गाडी खोसियो 

बिहीबार, पुस २६, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी खोसिएको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण प्रकरणमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गाडी मगाउँदा नपठाइए पछि यसअघि नै उनको सवारी खोस्ने निर्णय भइसकेको बुझिएको छ ।  ‘प्रशासकीय अधिकृत अधिकारीले चालकलाई गाडी लिएर आउ भनेर बोलाएका रहेछन्’ महानगरस्रोतले भने, ‘चालकले महानगरमा सोध्दा नजानुस् भनेसँगै सवारी खोसेको कुरा बाहिर आएको हो ।’ कार्यपालिका बस्नु अघि नै अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनेदेखि सवारी खोस्ने निर्णय भएको भए पनि मगाएपछि मात्रै खुलासा भएको ती स्रोतको भनाई छ ।  महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए भने तीन कर्मचारीलाई निलम्बनमा छन् ।  कार्यपालिकाकै निर्णयमा कैफियत भेटिएपछि क्रुद्ध बनेका मेयर बालेनले उनलाई थुन्नसमेत भनेका थिए । 
गल्ती स्विकार्दै अधिकारीले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा आफूलाई झुक्काएर हस्ताक्षर (सही) गराइएको बताउँदै आएका छन् ।  नगरप्रमुख बालेन्द्र साह (बालेन) को सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुईवटा पानामा फरक–फरक तथ्याङ्क राखेर आफूलाई झुक्काएको उनको भनाई थियो ।  समितिले छानबिन गरिरहँदा महानगर फर्किन खोजेपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार