स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रतिवद्धता 

शनिबार, पुस २१, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रतिवद्धता जनाएकी छन् । उनले उत्पादित सामग्रीलाई बजारमा खपतयोग्य र  निर्यातयोग्य बनाउन महानगरपालिकाले सहयोग गर्ने पनि जनाइन् ।  निर्यातमा काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नम्बर २३ ले शनिबारदेखि शुरु गरेको ‘सम्भावित अन्तर्राष्ट्रिय बजार पहुँच’ विषयक पाँच दिने तालिम उद्घाटन गर्दै डंगोलले यस्तो बताएकी हुन् । 
उपप्रमुख डंगोलले भनिन्,‘अन्तर्राष्ट्रिय बजार योग्य उत्पादन भएपनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सीप नजानेका कारण उचित मूल्य र ठाउँ नपाएको बताउँदै उनले उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी सीप आवश्यक छ । जसका कारण निर्यातमा प्रोत्साहन हुन्छ ।’ उनले पाँच दिने तालिमपछि उद्यम गर्ने शैलीमा सुधार भएर व्यापार सञ्जाल विस्तार हुने र आयमा वृद्धि हुने बताइन् । 


वडाबासीलाई तालिम दिएर स्थानीय उत्पादनलाई निर्यातमा प्रोत्साहन गर्ने योजनाअनुरुप काम शुरु गरिएको २३ नम्बरका अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले तालिममा प्रस्तुतीकरण दिँदै सामग्री उत्पादन गर्दागर्दै त्यसका उपभोक्ताहरुलाई सामग्रीका विषयमा जानकारी दिने योजना बनाउनुपर्नेमा जोड दिए । तालिमले उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग गर्ने अपेक्षा गरिएको वडासचिव प्रमोद अधिकारीले जानकारी दिए । 
तालिममा बजारको मागका विषयमा जानकारी तथा सूचना दिने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउने, आकर्षक प्याकेजिङ्, लेभलिङ्ग, बजारीकरणको सिप, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा थाहा पाउने, उत्पादित बस्तुको मेला र प्रदर्शनी गर्नेलगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक सिप सिकाइने महानगरले जनाएको छ । 
तालिम हरेक शनिवार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्नेछ । वडाबासीको क्षमता विकास गराउन सञ्चालन गरिएको यो तेस्रो समूहको तालिम हो ।  

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार