सर्लाहीको बरहथवामा स्वास्थ्य केन्द्रसम्बन्धी विवाद र झडपपछि कर्फ्यू

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । स्थानीय स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विवादका क्रममा सुरक्षाकर्मीसँगको झडपमा सर्लाहीको बरहथवामा कम्तीमा एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
स्थानीय प्रशासनका अनुसार शुक्रवार साढे ५ बजेदेखि लागु भएको कर्फ्यू शनिवार बिहान ८ बजेसम्म कायम रहनेछ । घटनामा मारिएका व्यक्तिलाई प्रहरीको गोली लागेको हो वा होइन भन्ने स्पष्ट नभएको अधिकारीहरूको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले भने, “स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने विषयमा विवाद भएको रहेछ। त्यहाँ विवाद हुँदै छ भन्ने हामीलाई हिजै थाहा भएर सुरक्षाकर्मी पनि खटाएका थियौँ ।” “दुई पक्षबीच विवाद भयो र त्यसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले पनि बल प्रयोग गर्नुपर्‍यो तर गोली चलेको भन्ने यकिन भएको छैन ।”
उनले त्यस क्रममा ३० वर्षीय युवकको निधन भएको तर उनको शव सुरक्षाकर्मीको नियन्त्रणमा नरहेको बताए। ‘घटनापछि अवस्था नबिग्रियोस् भनेर त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो’, उनले भने ।

किन भयो विवाद ? 
घिमिरेले बताएअनुसार स्थानीय स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तोरोन्नति गर्नेबारे दुई पक्षबीच मतभिन्नता देखिएको थियो । उनले भने, “एक पक्षले नगरपालिकाले नै स्तरोन्नति गर्नुपर्ने भनेको रहेछ अनि अर्को पक्षले प्रदेशले स्तरोन्नति गर्ने भन्ने रहेछ । अस्पताललाई प्रदेशमातहत लानेबारे स्थानीय तहले आफैँ स्तरोन्नति गरेर चलाउने भनेपछि विवाद भएको रहेछ ।”
उनले घटनाबारे प्रारम्भिक जानकारी मात्र भएकाले थप जानकारी लिने काम जारी रहेको बताए । त्यस्तै उक्त क्षेत्रमा थप सुरक्षाकर्मी पनि खटाइएको छ । 
उक्त नगरपालिकाका अधिकारीहरूले बताएअनुसार अहिले सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने योजना नगर कार्यपालिकाले अघि बढाएको थियो ।
पछि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा मधेश प्रदेश सरकारले त्यसलाई ५० शय्याको अस्पताल बनाउने भनेर आफ्नो योजनामा पनि समावेश गर्‍यो । सोही विषयलाई लिएर नगरपालिकाभित्र क्रियाशील राजनीतिक दलहरूबीच मतभिन्नता देखिएको छ । प्रदेशले लिएका अन्य अस्पतालहरूको अवस्था राम्रो नभएको भन्दै एक पक्षले नगरपालिकाले नै त्यसलाई चलाउनु पर्ने बताएको छ भने अर्को पक्षले प्रदेशलाई दिनुपर्छ भनिरहेको छ ।
त्यसबारे छलफल गर्न शुक्रवार सर्वदलीय बैठक पनि बोलाइएको तर त्यो नहुँदै झडपहरू भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार