नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन् : मन्त्रालय

बुधबार, पुस १८, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइनसकेको जनाएको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहकोे भएपनि नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको हो । 
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नयाँ भेरियन्ट फैलिनसक्ने भएकाले सजकता अपनाउन आग्रह गरे ।  उनले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले सजक रहन आग्रह गरेका हुन् । 
प्रवक्ता डा बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुन, भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् । 
मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ ।
नयाँ भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार