प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय सहमतिको नयाँ वातावरण बन्यो’ 

सोमबार, पुस १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनअपेक्षा अनुरुपको समृद्धि ल्याउन, विकास, शान्ति र व्यवस्थालाई बलियो बनाउनुपर्ने भन्दै सबैले त्यसका लागि संकल्प गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले ४८औं मेलमिलाप दिवसका अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न नयाँ एकताको वातावरण बनेको धारणा राखे ।  एमाले अध्यक्ष ओलीले सोही कार्यक्रममा संविधान कार्यन्वयन तथा व्यवस्थाको पक्षमा आफूहरु रहेको बताएपछि दंग परेका प्रधानमन्त्री दाहालले भने, ‘विकास, शान्ति, संविधान कार्यान्वयन र व्यवस्थाको निम्ति हामी एकताबद्ध हुन आफूहरु तयार छौं भनेर जानुभयो । हामी तीन जना बेलाबेलामा शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउनका लागि बस्ने गरेका पनि छौं । यो सबै सन्दर्भ र पृष्ठभूमिमा आजको कार्यक्रमले एकताको सन्देश प्रवाह ग¥यो । राष्ट्रिय एकता र सहमतिको आजको सन्दर्भमा जनताको आशा अपेक्षा सम्बोधन गर्ने एउटा नयाँ संकल्प गर्ने एकताको वातावरण बनायो ।’ 
यस्तै, उनले जनतालाई व्यवस्थाको पक्षमा बुझाउन नसकेको र जनअपेक्षाअनुसार काम गर्न गम्भीर र जिम्मेवार भएर नलागेकोमा सबैले आफूहरुले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे । उनले व्यवस्थामाथि प्रश्न उठ्नुमा सबैको कमजोरी रहेको औंल्याए । 
‘लोकतन्त्रको विकल्प उन्नत र परिणाममुखी गणतन्त्र मात्रै हुने भन्दै उनले भने, ‘यो बीचमा हामीले व्यवस्थाको कुरालाई जुन गम्भीरता र जिम्मेवारीको साथ जनताको बीचमा लानुपथ्र्यो र लोकतान्त्रिक गणतन्त्रमार्फत जनताको अपेक्षा पूरा गर्न हामी जति जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने थियो, त्यहाँ कहीँ न कहीँ हाम्रा कमीहरु रहे, यसमा हामी सबैले आत्मसमीक्षा गर्नै पर्छ,’ उनले थपे, ‘गणतन्त्र विरोधी भाष्य बनाउने जमर्को गर्ने दुष्साहस किन देखा परेको छ भने हाम्रो कमजोरी रह्यो । हामीले आफैंलाई आत्मसमीक्षा गरेर गणतन्त्र अनुरुप जनअपेक्षा, विकास र समृद्धिको अनुकूल आफूलाई ढाल्न एउटा नयाँ संकल्प गर्न जरुरी छ ।’

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार