बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीको जवाफ लिँदै

सोमबार, पुस १६, २०८०

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा भएको घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दैछ । समितिले घटनाका विषयमा गृहमन्त्री श्रेष्ठ जानकारी लिन लागेको हो । अहिले विहान साढे ८ बजेबाट बस्ने बैठकमा घटनाको विषयमा गृहमन्त्री श्रेष्ठसहित तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 
‘समितिमा गृहमन्त्रीलाई बोलाएका छौँ, सुरक्षा निकायका प्रमुखहरूलाई पनि बोलाएका छौँ,’ उनले भने, ‘किन त्यस्तो घटना भयो ? प्रहरीले संयमता किन नअपनाएको हो ? र घटनापछि के भइरहेको छ ? छानविन र जाँचबुझ समितिको भूमिकासम्मका विषयहरूमा छलफल हुन्छ । गृहमन्त्रीबाट जवाफ माग्छौँ ।’
शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको थियो । प्रहरीको कुटपिटबाट दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भयो भने अछामका २२ वर्षीय बीरेन्द्र शाह प्रहरीको गोली प्रहारबाट ज्यान गुमाए । 
घटनापछि गृह प्रशासनको असफलता र लापरबादी छरपष्ट भएको भन्दै चौतर्फी विरोध भइरहेको छ भने केहीले गृहमन्त्री श्रेष्ठको राजीनामा समेत मागिरेका छन् । 
घटनापछि गृहले डिआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाए पनि पीडितहरूले न्यायिक छानविन माग गरेपछि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति बनाउने वचन दिएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार