बालकुमारी घटना छानबिनका लागि न्यायिक आयोग बनाउने सरकारको तयारी

प्रस्ताव तयार पार्न प्रधानमन्त्रीले दिए गृहमन्त्रीलाई निर्देशन
आइतबार, पुस १५, २०८०


काठमाडौं। सरकारले ललितपुरको बालकुमारीमा भएको घटना छानबिनका लागि न्यायिक आयोग बनाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने तयारी गरेका हुन्।
उनले पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठनका लागि प्रस्ताव ल्याउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको  हो ।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गठन गर्ने समितिले छानबिन तत्काल सुरु गर्ने बैठकका सहभागी  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । 


उनले भने, ‘बालकुमारी गोल काण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीजीले गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । गृह मन्त्रालयले भोलि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएर निर्णय गरी आयोगले काम गर्ने व्यवस्था मिलाउने कुरा भएको छ ।’
पुस १३ गते कोरियन भाषा परीक्षाको आवेदन बुझाउने विषयमा भएको विवादमा प्रदर्शनमा उत्रिएका युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएपछि प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो। प्रहरीले गोली चलाउँदा दुई युवाको ज्यान गएको थियो । यो घटनाको छानबिन गर्न गृह मन्त्रालयले त्यही दिन डीआईजीको नेतृत्वमा एक समिति गठन गरेको थियो । कोरियाली भाषा परीक्षामा सहभागिताका लागि भएको प्रदर्शनमा प्रहरीको बल प्रयोग र गोलीबाट बालकुमारीमा शुक्रबार अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडीमाथि आगजनी भएको थियो । घटनाका पीडित परिवारले अझै शव बुझेका छैनन् । न्यायिक छानबिनसँगै दोषीमाथि कारबाहीका माग गर्दै प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार