अर्थमन्त्री महतको कामप्रति कांग्रेस नै असन्तुष्ट, परराष्ट्रमन्त्री साउदको प्रशंसा

आइतबार, पुस १५, २०८०

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्दीमा रहेको अर्थतन्त्रमा सुधारका लागि ठोस पहल गर्न नसकेको भनी अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहँदा नेपाली कांग्रेसले पनि उनको कामप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले गत बिहीबारदेखि हिजो शनिबारसम्म तीन दिन केन्द्रीय समितिको बैठक राखेर व्यापारिक व्यावसायिक क्षेत्रमा सन्तोषजनक प्रगति हुने गरी काम गर्न नसकेको भनी महतको कार्यशैलीप्रति असन्तुष्टि जनाएको हो । ‘विगतको तुलनामा यस आर्थिक वर्षमा वस्तुको आयात कम भएकोले वैदेशिक व्यापार घाटामा न्यूनीकरण भए पनि निर्यातमा उल्लेख्य मात्रामा वृद्धि हुन नसकेको देखिंदा व्यापारिक व्यावसायिक क्षेत्रमा सन्तोषजनक प्रगति हुन सकेको देखिएन,’ आइतबार सार्वजनिक निर्णयमा भनिएको छ।
कांग्रेसले मन्त्री महतमाथि पुँजीगत खर्च हुन नसक्ने समस्यामा पनि ठोस कदम चाल्न नसकेको बताएको छ। ‘पुँजीगत खर्च हुन नसक्ने विगतको समस्या यथावत नै छ। सम्पन्‍न भएका आयोजनाको पनि निर्माण व्यवसायीलाई दिनु पर्ने रकम समयमा भुक्तानी नभएको अवस्थाले पनि विकास निर्माणका आयोजना कार्यान्वयनमा सुस्तता देखिएको छ,’ निर्णयमा उल्लेख छ।
अर्थमन्त्री महत पार्टी सभापति शेरबहादुर देउवाका विश्‍वासपात्र हुन्।

परराष्ट्रमन्त्रीको प्रशंसा
सरकारमा अहिले कांग्रेसबाट ९ मन्त्री छन् । ती मन्त्रीले पार्टीको केन्द्रीय समिति बैठकमा आफूले गरेका कामको प्रगति रिपोर्टसमेत प्रस्तुत गरेका थिए । रिपोर्ट प्रस्तुत गर्ने ९ मन्त्रीमध्ये सात मन्त्रीबारे निर्णयमा केही उल्लेख छैन।
परराष्ट्रमन्त्री एनपी साउदको भने प्रशंसा गरिएको छ । उनले जनतामा गौरव महसुस हुने गरी काम गरेको कांग्रेसको निर्णयमा उल्लेख छ । उनी पनि सभापति देउवाका विश्‍वासपात्र हुन् । नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण सम्पन्न हुनु, नेपाली कामदार भएका मुलुकमा नेपाली राजदूतावास खोल्ने कार्य आफैंमा प्रशंसनीय छ। हमास इजरायल युद्धमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपतमा परेका सयौं नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैं युद्धग्रस्त मुलुक पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको छ भने अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ । यसै सिलसिलामा इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाई गर्न र रूस( युक्रेन युद्धमा रूसी सेनामा भर्ना भई युद्धकै क्रममा निधन भएका नेपाली नागरिकको शव खोजी गरी स्वदेश ल्याउने विषयमा थप कुटनीतिक पहल गर्नु पर्ने देखिन्छ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार