एनसेलको सेयरबारे छानबिनपछि मात्र सरकारले आवश्यक निर्णय लिन्छ : मन्त्री शर्मा

बिहीबार, पुस १२, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर खरिदबिक्रीबारे अध्ययन तथा छानबिन समितिले सुझावसहितको प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय लिने बताएकी छन् ।  प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार मन्त्री शर्माले सरकारले दिएको कार्यादेशअनुसार समितिले छानबिन गरिरहेकाले सेयर खरिद बिक्रीको प्रक्रिया रोक्का रहेको बताइन । 
उनले भनिन् ‘छानबिन र अध्ययन समिति बनेको छ । अहिले त्यो समितिले काम गरिरहेको स्थिति हो । समितिलाई ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यदेश छ । समितिले प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्ने गरेर खरिदबिक्रीको प्रक्रिया रोकिएको छ ।’  दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालयले तयारी सुरु गरेको जानकारी उनले समितिलाई दिइन् । 
गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययनका लागि पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार