वर्षाको सम्भावना न्यून छ : मौसमविद्

बिहीबार, पुस १२, २०८०

काठमाडौ । तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । यति बेला  किसानले हिउँदेबालीको लागि पानी पर्खिरहेका छन् । यसपटको  हिउँदमा केही ठाउँमा छिटपुटबाहेक पानी परेको छैन। तराई–मधेसमा अहिले पनि दिउँसोपख गर्मी नै छ।
जनकपुरमा हिजो उच्चतम तापक्रम ३० दशमलव ५ डिग्री सेल्सियस, विराटनगरमा २७ दशमलव ८ डिग्री, धरानमा २६ दशमलव ८ डिग्री, भैरहवामा २६ दशमलव ६ डिग्री र नेपालगञ्जमा २६ डिग्री सेल्सियस मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । गएको बिहीवार काठमाडौंमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।
सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुसको मध्य हुनै लाग्दा पनि पानी पर्न सकेको छैन । कतैकतै छिटपुटबाहेक पानी नपरेको र चिसो ल्याउने पश्चिमी वायु पनि नरहेको हुँदा मौसम सुक्खा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तत्काललाई पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ ।
नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । तर अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको तीन दिन शनिवारसम्म नै पानी र हिमपातको सम्भावना छैन ।
आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहेको छ । जनवरी पहिलो हप्ता अर्थात् आउँदो सोमवारदेखि पानी पार्ने प्रणाली भित्रिन सक्ने मौसमविद्को अनुमान छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार