बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दै छौं : अर्थमन्त्री डा. महत

मंगलबार, पुस १०, २०८०

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार सौराहामा उद्घाटन गर्दै उनले आवश्यक बजेट मन्त्रालयले माग गर्ने व्यवस्था भइरहेको भन्दै आन्तरिक बजेटमा अनुशासनहीनता घट्ने बताए । 
‘तीन करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन । एक करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, एक करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ’, उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’ 
अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने भन्दै उनले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्न नपर्ने बताए । अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक भई बढी पर्यटक आगमन पनि बढेको भनाइ उनले राखे ।  
जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले मुलुकको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउने भन्दै उनले स्वदेशमै लगानी र प्रतिफलको अवसर खोज्न सकिने बताए । ‘जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउँछ । अवसर यहीँ छ, युवाहरुले सूक्ष्म दृष्टिले यहाँका अवसरहरु खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यहीँ छ,’ उनले भने । 
मन्त्री महतले चितवनका आदिवासी थारुहरुलाई सम्बोधन गर्दै जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन उनीहरुको ठूलो भूमिका रहेको बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार