बिरामीको मृत्युले आक्रोसित समूहद्वारा बिर्तामोडस्थित  मनमोहन सामुदायिक अस्पताल तोडफोड 

मंगलबार, पुस १०, २०८०

झापा । उपचाररत एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले मंगलबार झापाको बिर्तामोडस्थित  मनमोहन सामुदायिक अस्पतालमा तोडफोड गरेका छन् ।
बिर्तामोड नगरपालिका–९ की ३५ वर्षीया नर्वदा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले आफन्तले अस्पतालमा ढुंगा प्रहार गरे । घटनामा अस्पताल भवनका सिसा फुटेका छन् । उनीहरुले केहीबेर पूर्वपश्चिम राजमार्गमा यातायात आवागमन पनि अवरुद्ध पारेका थिए ।
आफन्त दुर्गा पाठकका अनुसार घुँडा दुख्ने र सुन्निने समस्या देखापरेपछि नर्वदा सोमबार बिहान अटोरिक्सा चढेर सामान्य अवस्थामै अस्पताल आइपुगेकी थिइन । अस्पतालमा उपचारका क्रममा उनको समस्या जटिल बन्दै केही घण्टामै निधन भएको हो । उनको निधनपछि सोमबार साँझदेखि नै परिवार र आफन्त आन्दोलित छन् ।


इमरजेन्सीमा भर्ना गरेको तीन घण्टासम्म पनि डाक्टरले चेकजाँच नगरेको पाठकको आरोप छ । दुखाइ कम गर्न नर्सले इन्जेक्सन लगाएपछि उनलाई झन समस्या भएको थियो । एक्कासि जीउ पोल्ने र दुख्ने भएपछि बिरामीका आफन्तले चिकित्सक बोलाइदिन आग्रह गरेका थिए । बिहान ८ बजे भर्ना भएकी बिरामीको अवस्था जटिल भएपछि ११ बजे मात्र चिकित्सकले चेकजाँच सुरु गरेका थिए । उनलाई डाक्टर सुवेश सौरभले जाँच गरेका थिए । बिरामीको अवस्था जटिल बन्दै गएपछि सुविधासम्पन्न अस्पतालमा रेफर दिन आग्रह गर्दासमेत अस्पतालले अटेर गरेको घिमिरेका आफन्तको आरोप छ ।
डाक्टरले समय नदिँदा उनले अकालमा ज्यान गुमाएको पीडित परिवारको दाबी छ । मृतकका नाबालिग छोराछोरीलाई न्याय दिनुपर्ने माग उनीहरुको छ । मंगलबार दिनभरजसो भएको वार्ता सहमतिमा पुगेको छैन । 
नर्वदाको शव आफन्तले बुझेका छैनन् । अस्पतालले उपचारमा कमजोरी भएको भनेर क्षमायाचना नगर्दा छलफल निष्कर्षमा नपुगेको आफन्तले आरोप लगाएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार