केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया 

मंगलबार, पुस १०, २०८०

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा ४२ दिने शिशुको  'दुर्लभ’ शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो ।  केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ ।   चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । 
त्यसपछि तत्कालै भर्नागरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । 
‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ’ डा. श्रेष्ठले भने ।


उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रिया बाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा. श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनैपनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए ।  ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन । विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ’ उनले भने ।
केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । 
अप्रेसनमा लैजानु अगाडि डाक्टरहरूले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो ।’ बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरूलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरू भगवान सरह नै हुनुभयो । उहाँहरूले उपचार पद्धतिमा गर्नुभएको केयर कहिल्यै बिर्सन सक्दिनँ ।’ केएमसीमा स्वास्थ्य क्षेत्रका नवीनतम उपचार प्रविधिहरू भित्र्याइए पछि जस्तोसुकै जटिल केसहरू हल गर्न सकिएको छ । 
डाक्टर सुनिलकुमार शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरिएको केएमसीले जनाएको छ । 


केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । भने, फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ । परम्परागत चिरेर गरिने अप्रेसन भन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । ल्याप्रोस्कोपी बाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ ।
 ‘अब पहिलेको जस्तो ठुल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ । ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ । यसको प्रभावकारितामा कुनै शंका गर्नुपर्दैन ।’ डा। श्रेष्ठले भने ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार