६० प्रतिशतले घट्यो दुग्ध पदार्थको खपत

दैनिक १० करोड बढीको नोक्सान
सोमबार, जेठ ३, २०७८

काठमाडौँ । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् । नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक दश करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म बिक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करिब रु तीन अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।
चालु पुँजीको रूपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनाईएको छ । ‘गत वर्षको बन्दाबन्दी पछि धेरै क्षेत्रलाई सरकारले अनुदान र राहत उपलब्ध गरायो तर दुग्ध क्षेत्रले आजसम्म कुनै पनि राहत तथा सहयोग पाएको छैन । सरकारी सहयोग नहुँदा धेरै व्यवसायी तथा किसानको आकर्षण घट्दो रहेको छ’, उनले भने । 
उनका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ । महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छुटमा रु पाँच करोडसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउँछन् । ‘बन्दाबन्दीले हामीहरू व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका थियौँ, अन्य क्षेत्रमा कर्जा पाउँन समस्या भएता पनि डेरी उद्योगीहरूलाई बैंकले खोजीखोजी कर्जा उपलब्ध गराउँदा धेरै सहज भएको थिया’, उनले भने । 
डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।–रासस
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार