ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवस

फोहोर मैला व्यवस्थापनमा संघीय सरकारको सहयोग चाहियो : काठमाडौं महानगर प्रमुख शाह

सोमबार, पुस २, २०८०

ललितपुर । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग आवश्यक भएको बताएका छन् । सोमबार ललितपुर महानगरको १०५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘बञ्चरेडाँडा (स्यानिटरी ल्याण्डफिल साइट) व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहना भयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्ने समय अगाडि नै समाधान गरिदिन सक्नुहुन्छ । तर, यो काम गर्न स्थानीय सरकारलाई दिएको अधिकारले पुग्दैन । हामी प्रमुख उपप्रमुखको जोडले मात्र पुग्दैन । यसमा भएका बाधा फुकाइ दिन म अनुरोध गर्न चाहन्छु ।’ उनले ललितपुर र काठमाडौं सहरलाई एउटै सहरको रुपमा बुझेपनि दुई सहरबीेच केही भिन्नता रहेको बताए । उनले भने, ‘काठमाडौमा नदी अतिक्रमण छ । ललितपुरमा पैदल मार्ग । एकदिन दुवै सहरलाई अतिक्रमणमुक्त बनाउनु पर्छ । कतिपय अतिक्रमण हामी आफैँले नियन्त्रण गर्न सक्छौँ । तर नदी अतिक्रमण व्यवस्थापन हामीले मात्र गर्न सक्दैनौँ ।’ उनले ललितपुर उज्यालो भएको बताउँदै काठमाडौंले मुद्दा खेपेका कारण उज्यालो हुन नपाएको बताए । उनले भने, ‘काठमाडौैंले मुद्दा खेप्न काम हुन पाएको छैन, ललितपुरले यो कार्यक्रम संचालन गर्न पायो ।’
उनले सरसफाइ र सम्पदा संरक्षणको कुरा उठाउँदै काठमाडौंलाई ललितपुर जस्तो सफा र भक्तपुर जस्तो सम्पदा संरक्षण भएको सहर बनाउने  योजना अनुसार नै काम भइरहेको बताए । सरसफाईमा अहिले काठमाडौंमा पनि अहिले धेरै काम भएको बताए । 
यातायात क्षेत्रको सुधारका लागि संघीय राजधानी यातायात प्राधिकरणको संरचनाबाट काम थाल्दाथाल्दै प्रदेश सरकार मुद्दामा गएकोमा उनले असन्तुष्टि व्यक्त गरे । यातायात क्षेत्रलाई वैज्ञानिक बनाउने योजना बनाउँदै गर्दा सुधारका काम गर्दा प्रदेश सरकारले मुद्दा नहुने उनले तर्क गरे । भने, ‘पालिकाले राम्रा काम गर्दा प्रदेश र संघ सरकार खुशी हुनुपर्छ ।’

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार