त्रिविको दीक्षान्त बन्यो विश्व रेकर्ड (फोटोफिचर)

सोमबार, पुस २, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरी विश्व कीर्तिमान बनाएको छ । आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी दीक्षित भएका छन् । 
त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वल्र्ड रेकर्डस्का प्रतिनिधिलाई काठमाडौंमा बोलाएको थियो । सोहीअनुसार अफिसियल वल्र्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । 


त्रिवि निमित् उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओब्लुआर गिनिज बुककै भगिनी संस्था हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात अर्को प्रमाणपत्र दिने उनले जानकारी दिए । 
उनले भने,‘ओब्लुआरले अन द स्पट प्रमाणपत्र दियो । यसले भेरिफाइ गरेर पठाएपछि अर्को स्टेपमा गिनिज बुकले नै दिन्छ ।’
सोमबार ४९औं दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डबाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।
सोही समारोहमा ओब्लुआरका दिल्ली र काठमाडौंस्थित प्रतिनिधिले  त्रिविको रेकर्ड, दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर विश्व कीर्तिमान प्रमाणित गरेका हुन् । 
गिनिजमा यसअघि यस्तो विधामा कुनै पनि कीर्तिमान लेखिएको छैन । २६ हजारभन्दा बढीले दीक्षान्तका लागि फाराम भरेको र झन्डै त्यति नै संख्यामा उनीहरुको उपस्थिति देखिएको त्रिविले जनाएको छ । यस वर्ष ७३ हजारभन्दा बढी विद्यार्थीहरु त्रिविबाट ग्राजुएट भएका थिए ।

प्रमाणपत्रमा २६ हजारभन्दा बढी विद्यार्थी, अभिभावक तथा अतिथिहरु दीक्षान्त समारोहमा उपस्थित भएको उल्लेख छ । उनीहरुमध्ये विद्यार्थी मात्रै १२ हजारभन्दा बढी थिए । त्रिविको रेकर्डमा आजको उपस्थिति अहिलेसम्मकै धेरै हो । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार