मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

सोमबार, मंसिर १८, २०८०

विराटनगर । खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सचिवहरुलाई निर्देशन दिएका छन् ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गरेका थिए ।

‘अब बजेट कायान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बहाना छैन । बजेट कार्यान्वयन गर्न के के कुराले रोक्छ ऐन, कार्यविधि, नियमावली जे बाधक बनेका छन् ती सबै संशोधन गर्न नयाँ बनाउन परे सरकार तयार छ,’ मुख्यमन्त्री कार्कीले भने ।

जनताको काम गर्न अलमल गर्ने छुट कसैलाई नभएको भन्दै कार्कीले वातावरणमैत्री र मानवीय विकास प्रदेश सरकारको प्राथमिकता भएको बताए ।

उनले भने, ‘सेवाग्राहीलाई सम्मान गर्दै मानवीय विकासमा जोड दिनुपरेको छ । खर्च गर्ने क्षमता बढाएर सुशासन कायम गर्दै अगाडिका चुनौतीहरूलाई समाधान गर्नु पर्दछ ।’

सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउन आवश्यक सुधार गर्ने, जनसेवा, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्ने, निकायगत समन्वय कायम गरी कामलाई गति दिने नीति सरकारको भएको सुनाए ।

राजनीति र प्रशासनबीच विश्वासको वातावरण निर्माण गरी शासन, विकास र सेवा प्रवाह गरिनुपर्ने कार्कीको जोड थियो । ‘कार्यान्वयन गर्ने निकायमा कुनै पनि राजनीतिक दबाव, प्रभाव आए त्यसको जिम्मेवारी म लिन्छु’ उनले भने ।

बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने कानून, कार्यविधि, निर्देशिका निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने भए पहिचान गरी मन्त्री तथा मुख्यमन्त्री समक्ष पेश गर्न मुख्यमन्त्रीले निर्देशन दिए ।

प्रमुख सचिव दिपककुमार काफ्ले सबै मन्त्रालय तथा निकायले १० दिनभित्र बजेट कार्यान्वयन कार्ययोजना निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेश गर्ने र सोही कार्ययोजनाअनुसार कार्यान्वयन गर्ने बताए ।

उनले भने, ‘संविधान, प्रचलित कानून तथा प्रदेश आर्थिक ऐनले पहिचान गरेका प्रदेशको अधिकार क्षेत्रभित्रका राजश्वका क्षेत्रहरुबाट अनुमान गरेको राजश्व संकलन गर्न सवै संयन्त्रहरु अनुशासित ढंगले क्रियाशील हुनुपर्छ ।’

 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार