राजीतिक रुपमा सक्रिय पाएर वीर अस्पतालका निर्देशक पौडेल कारबाहीमा परेको स्वास्थ्य मन्त्रालयको भनाई

आइतबार, मंसिर १७, २०८०

काठमाडौं । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेललाई राजीतिक रुपमा सक्रिय पाएर हटाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । यही आधारमा निर्वाचन आयोग र सतर्कता केन्द्रले कारबाही गर्न सिफारिस गरेपछि हटाइएको मन्त्रालयले दाबी गरेको छ । 
कार्यकाल १५ महिना बाँकी छँदै पौडेललाई बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले निर्देशक पदबाट हटाएर मन्त्रालयमा तान्ने निर्णय गरेको थियो । मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले डा.पौडेललाई मन्त्रालयमा हाजिर हुन आउनु भन्दै शुक्रबार पत्राचार गर्‍यो । 


नियमअनुसार वीर अस्पतालको कार्यकारीको जिम्मेवारी अवधि दुई वर्ष हो । तर, पौडेलको जिम्मेवारी १५ महिना बाँकी छँदै उनी हटाइए । तर, मन्त्रालयले पौडेलको राजीतिक संलग्नता र सक्रियताको कारण कारबाही गरेको आज स्पष्ट पारेको छ ।
पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको केन्द्र र आयोगले प्रस्ट्याउँदै मन्त्रालयलाई पत्राचार गरेपछि निर्देशक पदबाट हटाएको मन्त्रालयले जनाएको छ । 


मन्त्री मोहनबहादुर बस्नेतको सचिवालयले भनेको छ, ‘आयोग र केन्द्रले वीर अस्पतालका कार्यकारी निर्देशक डा.पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि सिफारिस गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई वीरको निर्देशकको जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानेका हुन् ।’
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापनले २०८०–०८–०७ गते मन्त्रालयलाई काटेको पत्रमा भनिएको छ, ‘वीर अस्पतालका कार्यकारी निर्देशक डा.पौडेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भनी प्राप्त हुन आएको उजुरीको छायाप्रति यसै पत्रसाथ संलग्न छ ।’ 
पत्रमा थप भनिएको छ, ‘निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ ।’
पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको उजुरी परेको थियो । 
सरकारबाट नियुक्त डा.पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन सकेर कारबाही सिफरिस गरेको थियो । नेकपा एमालेको वेभसाइटमा नै डा पौडेल सदस्य रहेको उल्लेख छ ।


राष्ट्रिय सतर्कता केन्द्रले पनि पौडेललाई टे«ड युनियनसँगको उनको संलग्नताले स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने भन्दै आवश्यक कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरेको थियो । 
सो पत्रमा भनिएको छ, ‘वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेल ट्रेड युनियनमा आवद्ध भै कामकाज समेत गरेकोले छानबिन गरी पाउँ भनी केन्द्रमा उजुरी दर्ता भएकोमा सो विषयमा छानबिन गर्न यस केन्द्रबाट छानबिन समिति गठन भै प्राप्त प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरपछि वीर अस्पतालमा समेत कार्यकारी निर्देशकको रुपमा कार्यरत निज डा सन्तोष पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकोले प्रचलित कानुनमा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नु अनुरोध छ ।’ 
स्वास्थ्य सेवा नियमावली अनुसार कुनै पनि चिकित्सक राजनतिक पार्टीको सक्रिय सदस्य हुन पाउँदैनन् ।साथै उपल्लो तहको चिकित्सक जनवर्गिय संगठनको सदस्य हुन समेत नियमावलीमा बन्देज गरिएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार