इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाएन, पठायो १२ बुँदामा सुधारको सुझाव

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं । युरोपियन युनियन (इयू)ले नेपाली हवाई सेवालाई सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको रिर्पोट दिएको छ । इयूको एयर सेफ्टी कमिटीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई सुरक्षा अडिट प्रतिवेदन पठाउँदै १२ बुँदामा सुझाव पठाएको छ । गत भदौ अन्तिममा नेपाल आएको इयूको टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण, सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सको जाँच गरेको थियो । 
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगम र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा यूरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको रिर्पोट आएको बताएका छन् ।

‘इयुको एजेन्सीसँग हाम्रो सहकार्य जारी थियो । फेब्रुअरीको मिसनलाई सेप्टेम्बरमा आएर ५ दिन आएर इयुको टोली जाँच सकेर गएको थियो,’ महानिर्देशक अधिकारीले बिहीबार सञ्चारकमीृसँग भने, ‘उहाँहरुको जाँच सुरक्षासँग सम्बन्धित थियो । उहाँहरुको ड्राफ्ट रिपोर्टपछि हामीले तत्काल र दीर्घकालीन गर्न सकिने एक्सन प्लानसहित हामीले पठाएका थियो । त्यसमा छलफलका लागि हामी नोभेम्बर १५ मा ब्रसेल्स गएका थियौ ।’ 


अडिटपछि नोभेम्बर १४–१६ सम्म ब्रसेल्समा छलफलमा गरेर एयर सेफ्टी कमिटीले प्रतिवेदन तयार पारेको थियो । कमिटीले सुनुवाइपछि पठाएको इमेलमा नेपालको हवाई सेवा प्रणाली सुधारको दिशामा अघि बढेको पाइए पनि सुरक्षा सूचीबाट हालका लागि हटाउन नसकिने आशय रहेको उनले बताए । 
प्राधिकरणको कामसँग सम्बद्ध कमजोरी उल्लेख नगरे पनि निगम र श्री एयरलाइन्सलाई सुरक्षा व्यवस्थापन प्रणाली र उडान संचालन नीतिमा सुधार गर्न सुझाव दिइएको जानकारी उनले दिए ।


‘ती दुई संस्थाले १२ बुँदा सुधार गर्नुपर्ने इयूको सुझाव छ, हामीले सुधार गरेर देखाउन सक्नुपर्छ,’ उनले भने । प्रतिवेदनमा उड्डयन सुरक्षाका लागि प्राधिकरणले गरेको काम र नेतृत्वको प्रशंसा गरिएको उनले बताए ।
इयूको सुरक्षा जाँच नियमित प्रक्रिया भएकाले नेपाली हवाई सेवा कम्पनीले गर्नैपर्ने उडान सुरक्षाका मापदण्डमा योजना बनाउनु पर्ने र त्यसलाई लागू गरेर देखाउन सक्नुपर्ने उनले बताए । ‘सुरक्षा जाँच नियमित प्रक्रिया हो । हामीले एक्सन प्लान बनाएर, लागू गरेर जानुपर्छ,’ उनले भने ।  इयूको सुरक्षा सूचीमा परेका कारण नेपाली हवाई सेवाले युरोपेली मुलुकमा उडान गर्न पाउँदैनन् । लामो समयदेखि उक्त सूचीबाट नेपालाई हटाउन माग हुँदै आए पनि इयूको निर्णयले नेपाली वायुसेवा कम्पनीहरुलाई निराश पारेको छ । 
सन् २०१० देखि २०१२ सम्म भएका पाँच हवाई दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएपछि ईयूले नेपाललाई सुरक्षा सूचीमा राखेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार