सकियो नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको बहस, आजदेखि सरकारी वकिलको बहस 

बुधबार, मंसिर १३, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरवलोकन निवेदनमाथिको सुनुवाइमा आजबाट सरकारी वकिलले बहस गर्ने भएका छन् । उच्च अदालत पाटनमा गत सातादेखि बहस जारी छ ।
मंगलबारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ । उनीहरूको बहस सकिएसँगै आजदेखि सरकारी वकिलले बहस गर्ने छन् । बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् । 
सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी) का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । त्यसपछि पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउने छ ।
सोमबारदेखि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए । उनीहरूको बहस मंगलबारको खाजा ब्रेकअघि सकिएको थियो । खाजा ब्रेकपछि अभिभयुक्तहरू रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस भएको थियो । यससँगै प्रतिवादीहरूका वकिलहरूको बहस टुंगिएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी वकिलसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुईजनाबाहेक सबै अभियुक्तालई पुर्पक्षका लागि धुनामा पठाउन आदेश गरेको थियो । थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।
पुर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ।
गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रममा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको बहस खाँणका तर्फबाट वकालत गर्ने क्रममा कानुन व्यवसायीहरूले आज बहस सकेका हुन्। खाँणको तर्फबाट आइतबार पनि बहस भएको थियो ।  पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए। खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरूले बहस गरेका छन्। आइतबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए। त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका हुन्।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दै राखेर सुनुवाइ भइरहेको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार