गायत्रीमन्त्र उत्पत्ति भएको विश्वास गरिने विश्वामित्र गुफामा आज यज्ञ

शुक्रबार, मंसिर ८, २०८०

रामेछाप । गायत्री मन्त्रको उत्पत्ति भएको विश्वास गरिने सुनकोसी नदी किनारमा रहेको विश्वामित्र गुफालाई धार्मिक तथा ऐतिहासिक महत्वको गुफा मानिन्छ । 

रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको सुनकोसी नदी तटमा रहेको यो गुफा सिन्धुलीको दुम्जास्थित आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिरको वारिपट्टी छ । यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको किम्बदन्ती छ । 

विश्वामित्र ऋषिले सो गुफामा गायत्रीको आराधना गरी गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ । सो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योगबलबाट सुनकोसी नदी तरेर दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा पूजा गर्न जान्थे भन्ने भनाइ  छ । 

गुफामा रहेको शिवलिङ्गलाई सधैँ नागले घेरेर राख्ने सो गुफाका तपस्वी पूजारी विष्णुप्रसाद नाराल बताउँछन् । 

अहिले दुम्जाबाट रामेछाप छिर्न नेपालथोकमा सुनकोसीमाथि पक्कीपुल बनेको कारण कुशेश्वर र विश्वामित्र गुफा जोडिएका छन् । मन्दिरबाट आफ्नो  सवारीसाधन हुनेहरु पाँच मिनेटमा गुफामा पुग्न सक्छन् । 

पैदल जाँदा करिब १० मिनेटमा गुफामा पुगिन्छ । काठमाडौं र तराईबाट बीपीमार्ग हुँदै कुशेश्वर दर्शन गर्न आउने दर्शनार्थीहरु विश्वामित्र गुफामा पुग्ने गर्दछन् ।
 
पौराणिक नाम रोशमती र सुवर्ण कौशिकी अर्थात् रोसी र सुनकोसीको संगमस्थलमा रहेको कुशेश्वर शिवलिङ्गलाई संसारकै पुरानो शिवलिंग अर्थात आदिलिंग मानिन्छ । कुशक्षेत्रमा तपस्या गरेर बस्ने भएका कारण विश्वामित्र ऋषिलाई कैशिक ऋषि भनेर पनि पुकारिन्छ । 

विश्वामित्र ऋषि जाडो याममा विश्वामित्र गुफामा र गर्मीमा गुफाको सिधा माथि चपाडीको जङ्गलमा रहेको एउटा विशाल ढुङ्गामुनि च्यापमा रात बिताउँथे भन्ने विश्वास छ । बिहान र साँझ कुशेश्वर मन्दिरमा पूजा गर्ने विश्वामित्र बाँकी समय सोही गुफामा साधना गर्दथे भनिन्छ । 

सो गुफामा विश्वामित्रले मात्र होइन दानवराज महिषासुर आदिले पनि तपस्या गरेको विश्वास गरिन्छ । अयोध्या नरेश दशरथ पुत्र राम, लक्ष्मण, भरत, शत्रुघ्नले विश्वमित्रसँग यहीँ आएर धनुर्विद्या आर्जन गरेको भनाइ छ ।

विगतमा गुफामात्र रहेको सो स्थानमा अहिले स्थानीय सरकार लगायतका राज्यका निकायले केही संरचना निर्माण गरेका छन् । मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा भत्किएको गुफाको मुखमा ढलान गरेर संरक्षण गरिएको छ । 

कार्तिक शुक्ल द्वादशीका दिन विश्वामित्र ऋषिले ध्यान गरेर देवी गायत्रीबाट गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ । सोही अवसरमा शुक्रबार कार्तिक शुल्क द्वादशीका दिन विश्वामित्र गुफामा गायत्रीमन्त्र उच्चारण, होम तथा यज्ञ गर्न लागिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

‘गुफामा तपस्वी, साधु तथा गुरुहरु आइसक्नु भएको छ, भोलि यज्ञ हुन्छ, त्यसको व्यवस्थापन गाउँपालिकाले गर्दै छ’, उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार